बुढानिलकण्ठमा विदा विवाद चर्कियो,हाकिम हटाउने तर विदा नघटाउने धम्की दिदै “हेडसरहरु”
कपन अनलाइन
काठमाडौँ, पौष २२।
बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुको हिउँदे विदा सम्बन्धि विवाद निकै चर्किएको छ।
बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै २०७९ साल पुस २४ गते देखि माघ २ गते सम्म ९ दिन मात्र विदा दिने निर्णयको विरोध गर्दै कतिपय विद्यालयहरुले पूर्ववत नै विदा दिने तयारी गरेपछि विदा विवादमा नगरपालिका र प्रधानाध्यापकहरु आमने सामने भएका हुन्।
कोरोना प्रकोपको बढ्दो संक्रमण र वार्षिक अध्यापनको समय अपुग जस्ता कारण देखाउदै नौ दिन मात्र विदा गर्ने नगर शिक्षा महाशाखाले सुचना जारी गरेपछि कतिपय विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयमा बैठकनै राखेर सो निर्णय नमान्ने संकेत गरेका छन भने केहि विद्यालयका प्रधानाध्यापकहरु बरु महाशाखाका हाकिम हटाउने तर विदा नघटाउने धम्कि दिदै हिडेपछि विदा विवाद चर्किएको हो।
पुस २४ गते देखि माघ १४ गते सम्म २१ दिन विदाको प्रस्ताव गरेका विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक,शिक्षकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि नगरपालिकाको सुचनामा सार्वजनिक प्रतिक्रिया समेत दिएका छन।
शिक्षा नियमावलीमा एक शैक्षिक शत्रमा हिउँदे र वर्खे विदा गरेर ४५ दिन विदा दिन सकिने उल्लेख गरिएको भन्दै २१ दिन हिउँदे विदा माग गरेका,प्रधानाध्यापक,शिक्षकहरु र विभिन्न संघ संस्थाका केहि प्रतिनिधिहरु र नगर शिक्षा शाखा विच देखिएको मतभेदमा बालउद्दार मावीका व्यवस्थापन अध्यक्ष धुर्व प्रसाद घिमिरेले शुरुमा नगरपालिकाको निर्णयलाई सामाजिक संजाल मार्फत स्वागत गरेका थिए।
विद्यालयमा शिक्षक र कर्मचारीहरुको आलोचक र विरोधी रहेको छवी बनाएका अध्यक्ष घिमिरेले नगरपालिकाको प्रस्तावको विद्यालयका सम्पूर्ण शिक्षकहरुले लिखित हस्ताक्षर सहित विरोध गरेपछि आफ्नो अभिव्यक्तिबाट “यु टर्न” भएका छन।
बुढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाका अधिकृत इन्द्र नेपालले जारी गरेको सुचनामा माघ ३ गते देखि नियमित पठन पाठन गराउन अनुरोध समेत गरिएको छ।