पत्रकारको आन्दोलनप्रति महासङ्घको सहमति

पत्रकारको आन्दोलनप्रति महासङ्घको सहमति

काठमाडौँ, २ असार । नेपाल पत्रकार महासङ्घले विभिन्न माग राखी दुई दिनदेखि धर्नामा बसेका हिमालय टेलिभिजनका पत्रकार र कर्मचारीको आन्दोलनप्रति सहमती जनाएको छ ।

महासङ्घको केन्द्रीय समितिले धर्नामा बसेका पत्रकार र कर्मचारीलाई आज भेट गरी २१ घण्टा अथात् भोलि बिहान ११ बजेभित्रमा पत्रकार र कर्मचारीले राखेका माग पूरा नगरे टेलिभिजन व्यवस्थापन विरुद्ध कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ ।

मालय टेलिभिजनको कार्यालयमा धर्ना बसेका पत्रकार तथा महासंघका पदाधिकारी । तस्वीर : नेत्र पन्थी
मालय टेलिभिजनको कार्यालयमा धर्ना बसेका पत्रकार तथा महासंघका पदाधिकारी । तस्वीर : नेत्र पन्थी

त्यस्तै, नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र कर्मचारीले नियमित रुपमा तलब पाउनुपर्ने माग गरेको छ । युनियनले श्रमजीवी पत्रकार र कर्मचारीको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, कार्यस्थलमा पत्रकार तथा कर्मचारीको भौतिक सुरक्षा, पूर्वाग्रहकै आधारमा सेवाबाट बर्खास्ती, सरुवा र स्पष्टीकरण सोध्ने तथा मानसिक यातना दिने कार्य तत्काल रोक्नसमेत माग गरेको छ ।

“यसअघि भएका सहमति कार्यान्वयनका लागि भन्दै हिमालय टेलिभिजनका पत्रकार तथा कर्मचारीले गरेको आन्दोलनप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,” – युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “श्रमजीवी पत्रकार ऐनअनुसार नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकलगायत व्यवस्था गर्न र सोअनुसार नियमित तलब तथा अन्य सुविधा प्रदान गर्न व्यवस्थापनसँग पत्रकार तथा कर्मचारीले राख्दै आएको मागको पक्षमा युनियन प्रतिबद्ध छ ।”

युनियनले पत्रकार तथा कर्मचारीको माग तत्काल पूरा गर्ने वातावरण बनाउन टेलिभिजन व्यवस्थापनलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।