भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार वितरण तथा पुस्तक बिमोचन

भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार वितरण  तथा  पुस्तक बिमोचन

कपन अनलाइन 

काठमाडौँ, पौष १०  ।   नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिवार वितरण गरेको छ । अर्यालको ८७ औं जन्मजयन्तीको अवसरमा गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिएको छ ।

यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरियो । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरियो । गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले वितरण  गरेको पुरस्कार वितरण कार्यक्रममा भैरव अर्यालको साहित्यिक योगदानबारे साहित्यकारहरू विजय चालिसे, प्राध्यापक डाक्टर सुषमा आचार्य, गोविन्द घिमिरे, वसन्त रिजाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले चर्चा  गरेका थिए  ।

वासुदेव लुइँटेलको साहित्यिक योगदानबारे डाक्टर मुकेश चालिसेले प्रकाश  पारेका थिए  भने साहित्यकार विश्वम्भर चञ्चलको योगदानबारे डाक्टर ध्रुव घिमिरेले जानकारी गराएका थिए  । त्यस्तै कलाकार रामचन्द्र अधिकारीको योगदानका विषयमा नायक कृष्ण मल्लले अवगत गराए । पुरस्कृत स्रष्टाहरू विश्वम्भर चञ्चल र रामचन्द्र अधिकारीले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु गर्वको विषय भएको बताए  । कार्यक्रममा भैरव अर्यालका कविताहरू एकीकृत गरी तयार गरी प्रकाशित गरिएको कृति ‘भैरव कवितावली’ पनि सार्वजनिक गरिएको थियो । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोखरेल र व्यङ्ग्यकार नरनाथ लुईटेल सदस्य  रहेको  समिति बनाएको थियो ।

तपाइँको प्रतिक्रिया ।