मनास्लु वर्ल्ड कलेज चावहिलले गर्यो बिबिएस प्रथम वर्षका बिद्यार्थीहरुलाई अभिमुखीकरण तथा करियर काउन्सिलिङ

मनास्लु वर्ल्ड कलेज चावहिलले गर्यो बिबिएस प्रथम वर्षका बिद्यार्थीहरुलाई अभिमुखीकरण तथा करियर काउन्सिलिङ

कपन अनलाइन

काठमाडौँ पौष ४ । चाबहिलको मनास्लु वर्ल्ड कलेजले बिबिएस प्रथम वर्षका लागी अभिमुखीकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष (बिबिएस) भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण सहित परामर्श गराएको हो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षता र काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा सम्पन्न  उक्त कार्यक्रममा उद्यमी, कर्ण शाक्य प्रमुख वक्ता रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने  कार्यक्रममा मनास्लुमा स्नातक प्रथम वर्षमा भर्ना भएका विद्यार्थी, शिक्षक, शिक्षिका तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै विद्यार्थीलाई स्वागत गरेका मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाको तेस्रो वर्षमै आफूलाई प्रमाणित गर्दै मनास्लुले आफ्नो अस्तित्व कायम गरेको बताए । +२ मा स्थापनाको छोटो समयमै उत्कृष्ट कलेजको परिचय बनाएको मनास्लु स्नातक तहमा पनि त्यही प्रतिष्ठा कायम गर्ने गरी अगाडि बढिरहेको उनको भनाइ थियो ।कार्यक्रममा बिबिएस किन र के का लागि पढ्ने ? मनास्लुमा त्यो विषयको अध्यापन कसरी हुन्छ? लगायत विषयमा जानकारी गराइएको थियो । त्यस्तै मनास्लुले दिने सुविधा र अध्ययन पश्चात् आउने अवसरहरू बारे पनि जानकारी गराइएको थियो ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा रहेका उद्यमी, लेखक तथा संरक्षणविद् कर्ण शाक्यले विद्यार्थीहरूलाई आफ्नो अनुभव सुनाउँदै मेहनत र सही निर्णयले उचित प्रतिफल प्राप्त हुने सन्देश दिएका थिए। उनले  बीबीएस  राम्रो सँग पढे विदेश जान जरूरी नरहेको बताउदै  देशमै सफल व्यवसायी हुन सकिने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि होडाले स्थापनाको छोटो समयमै आफूलाई प्रमाणित गर्न सफल भएको भन्दै कलेजलाई बधाई दिएका थिए। राष्ट्रलाई चाहिने सबै विधाका जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर कलेज अघि बढिरहेको देखेर आफू हर्षित भएको उनको भनाई थियो । आफू जनप्रतिनिधि भएकाले विधिको शासन कायम गर्न चाहेको र त्यसका लागि असल नागरिक चाहिने भन्दै उनले त्यही काम मनास्लुले गर्दै आएको उल्लेख गरे । कलेजमा अध्ययनरत विद्यार्थीले देशको कीर्ति अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास आफूले लिएको भन्दै उनले कलेजको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए  ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए । सौजन्य: मात्र एजुकेशन

 

 

तपाइँको प्रतिक्रिया ।