अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मन्त्री चौधरी

अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मन्त्री चौधरी

कपन अनलाइन
काठमाडौं,मंसिर १५ । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकार निर्माण गर्ने विषयमा छलफल भैरहेको छ, पाँच दलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरु पनि सल्लाहमै टुँगो लगाउँछौं । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । निर्वाचनमा हामीले पाँच दलीय गठबन्धन बनाएका थियौं । पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ । यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन्।’
क्लबका प्रतिनिधि ईश्वर कार्कीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘एमालेसहितको वामपन्थीहरुको सरकार बन्ने कुनै सम्भावना छैन् । यसमा कसैले पनि भ्रम नपाले हुन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । कांग्रेस ठूलो दल हो । उसको फष्ट च्वाईस हो । प्रधानमन्त्रीमा दाबी गर्ला । गठबन्धनभित्र कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो, उसले राष्ट्रपति च्वाईस गर्ला । एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ । हुन त नेताहरुसँग मेरो कुराकानी भएको छैन् । तर, यही तवरले छलफल अघि बढ्छ भन्ने लागेको छ ।’
उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने दाबी गरे । उनले भने,‘चुनावको परिणामबाट हामी सन्तुष्ट हुने कुरा उठाउनुभयो, हामी १९ सिटमा लडेका थियौं । १५ जित्ने दाबी थियो । तर, १० सिट जित्यौं । तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौं । अपेक्षा गरेअनुसार खासगरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ । समानुपातिकमा १० लाख आउँछ भनेका थियौं । तर, अब ३ लाख प्लस ल्याउँछौं । सन्तुष्ट हुने कुरै भएन । कमिकमजोरी भएको छ । हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं ।’
मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको रुपमा प्रधानमन्त्रीको खोजी भएको कुरातर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरुखालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन् । प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो । सम्भव कति होला, त्यो उहाँको दलभित्रको कुरा हो । सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो ।’
उनले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अब बन्ने नयाँ मुख्यमन्त्रीको सपथ हुने दाबी गरे । उनले भने,‘अब बन्ने संसद्को पहिलो बैठक राजधानी दाङमा बस्छ ।’
मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने विश्वास दिलाए । उनले भने,‘सुकुम्बासी समस्याको कुरा चर्को रुपमा उठेको छ। इसमा घट्ना घटेको छ, यसमा म दुःख व्यक्त गर्न चाहन्छु । सुरक्षाकर्मीमाथि प्रहार भएको छ, उता महागरको तर्फबाट डोजर चलाउने काम भएको छ । घट्ना घट्ने कुरा राम्रो होईन । काठमाडौंलाई सुन्दर शहरका रुपमा विकास गर्न काठमाडौं बाग्मती कोरिडोर निर्माण गर्नुपर्छ, त्यसको लागि त्यहाँका सबै घर भत्किनुपर्ने जरूरी छ । तर, उहाँहरुको व्यवस्थापन पनि गर्नुपर्छ । अहिले हामीले ईचंगुनारायणमा ३२५ घरपरिवारलाई पुग्ने सुविधासम्पन्न अपार्टमेन्ट बनाएका छौं ।, त्यहाँ बस्न पटक–पटक भनेका छौं । उहाँहरु जानुभएन । उहाँहरु गएको भए, यो समस्या उत्पन्न हुने थिएन ।’
उनले थापाथलीको सवालमा भने सुकुम्बासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाईएका र स्टल बनाएर भाडा असुल्ने काम भएको भन्दै आपत्ति जनाए । उनले भने,‘त्यहाँ ठूला भवन र स्टल बनाएर भाडा असुली गर्ने काम भएको छ । यो विषयमा पनि हाम्रो ध्यान पुगेको छ। सुकुम्बासी समस्या समाधानको लागि संवैधानिक रुपमा कानून निर्माण गरेका छौं । सम्भवतः तीन वर्षभित्र देशभरिको सुकुम्बासी समस्या हल गर्छौं । सुकुम्बासीको नाममा भाडा असुली गर्नेहरुलाई, ती व्यक्तिको विषयमा नोटिस गर्छौं । सरकारले के गर्नुपर्ने हो, त्यो गर्छौं । सुकुम्बासी समस्या समाधान हामी वेल म्यानेज तवरले व्यवस्थापन गर्छौं ।’
उनले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरुको घर नबन्दासम्म उनीहरुको लागि उचित बसोबासको व्यवस्थापन गर्ने सुनाए । उनले भने,‘रेन्ट हामी तिर्छौं । तिर्नुपर्ने ठाउँमा सरकार पुगेको छ। अनधिकृत रुपमा घर बनाएर असुली गर्नेहरुलाई कारबाही गर्छौं ।’
उनले काठमाडौं महानगरपालिकाले चालेको कदमको स्वागत गरे । उनले भने,‘यो त समाजले व्यवस्थापन गर्नुपर्छ । महानगरले कुटपिट गर्ने कुरा बेठिक हो । तर, जे काम गरेको ठीक गरेको छ । दुर्घटना नमित्याईकन व्यवस्थापन गर्नुपर्छ । ३५ दिनभित्र कुनै न कुनै तवरले समस्या समाधान गर्छौं ।’

तपाइँको प्रतिक्रिया ।