प्रचण्डले एमालेसँग कार्यगत एकताको वातावरण मिलाउन आग्रह

काठमाडौँ, ३० जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग कार्यगत एकताको प्रस्ताव राख्नुभएको छ ।

prachanda_bamdev (1)

एमालेका उपाध्यक्ष वामदेव गौतमलाई निवासमै बोलाएर एमाओवादी अध्यक्ष प्रचण्डले एमालेसँग कार्यगत एकताको वातावरण मिलाउन आग्रह गर्नुभएको स्रोतले बतायो । भेटवार्ता बुधबारको भए पनि अहिलेमात्रै सार्वजनिक भएको हो । उहाँहरुबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँग भएको छलफलबारे उपाध्यक्ष गौतमले पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाललाई पनि जानकारी गराइसक्नुभएको बताइएको छ ।

‘वामदेवजी हामी युद्धमा हुँदा पनि तपाईँले रोल्पा पुगेर १२ बुँदे सहमतिको आधार तयार पार्नुभयो, अब दुई पार्टीबीच कार्यगत एकताका लागि भए पनि भूमिका खेल्नुस् ।’- प्रचण्डको प्रस्ताव थियो ।

एमाओवादीबाट फुटेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले प्रचण्डसँग कार्यगत एकता समेत नगर्ने उद्घोष गरेका बेला प्रचण्डको यो प्रस्ताव आएको हो ।

एमालेका एक पोलिटव्युरो सदस्यका अनुसार, प्रचण्डको प्रस्तावको विषयलाई उपाध्यक्ष गौतमले पार्टीभित्र आफू निकटका नेताहरुसँग अनौपचारिक छलफल चलाएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।