पहिले भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया पाएका छौं : ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौँ, कात्तिक ३०।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरुको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताएका छन ।
काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा आज घरदैलोका क्रममा संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरु यसै क्षेत्रमा लामो समयदेखि जनताहरुमा भिजेकाले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउँदै उहाँले आमनागरिकहरुको सदभाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गरेका छन ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) जनताको काम गरेर नै उचाईमा पुगेको बताए । विचार, संगठन, नेतृत्व र जनताको काम गर्ने हिसाबले एमाले संगठित रहेको बताउँदै उनले जनताको काम गरेर एमालेले बनाएको उचाइलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताए।
यसअघि सोमबार काठमाडौंको हाँडीगाउँ गहनापोखरीबाट रुद्रमति मार्ग, विशाल नगर, बालुवाटार, टुँडालदेवी मन्दिर हुँदै धुम्बाराही पीपलबोटसम्म पोखरेलको पदयात्रा आयोजना गरिएको थियो ।
पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, पूर्वराजदूत एवं चर्चित गायिका अञ्जान शाक्यसहित हजारौंको सहभागिता थियो । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेको निकै बलियो संगठन रहेको र पोखरेल हेभीवेट नेता भएका कारण एमालेले सहज रुपमा जित्ने विश्वास लिइएको छ । काठमाडौं ५ (१) मा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल र ५ (२) मा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला उम्मेदवाररहेका छन ।
