चुनावमा चर्चित धोवीखोला कोरिडोरमा सरर ….

चुनावमा चर्चित धोवीखोला कोरिडोरमा सरर ….

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २९।

काठमाण्डौ क्षेत्र नं ४ को चुनावी मैदानमा अहिले निकै चर्चित बनेको विषय हो धोवीखोला कोरिडोर

यस क्षेत्रका राजनीतिक दल,उम्मेदवारहरु र पार्टी कार्यकर्ताहरुको सामाजिक संजालमा सबैभन्दा बढी स्थान पाएको धोवीखोला कोरिडोर निर्माण पुरा नभए पनि यसको प्रचार भने गौरवपूर्ण रुपमा गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रथम प्रमुख उद्दव खरेलको सक्रियतामा पाथिभरा टोलका घरहरु व्यवस्थापनको गाँठो फुकेपनि कोरिडोर निर्माण अझै पूर्ण भएको छैन।

तर अहिले उम्मेदवारहरुको प्रचार अभियानमा लाखौ बजेट खर्च गरेर तयार गरिएका प्रचार सामाग्रीहरुमा काठमाण्डौ-७ र बुढानिलकण्ठका   वडा नं २,१० ,१३ लगायतका वडामा अपुरो रहेको कोरिडोरको दृश्य नदेखाइए पनि धोवीखोलाको मुहान धोवीढुङ्गा सम्म कोरिडोर निर्माण हुन् अझै केहि वर्ष लाग्ने देखिन्छ।

यस पटकको चुनावमा स्थानीय मुद्दाको पहिचान र उठान गर्न नसकेर एजेन्डा र योजनाहरुको खडेरी लागेपछि धोवीखोला,नगर अस्पताल,केहि पार्कहरु र सडक तिर लागेका दलहरुका धेरै नेता तथा कार्यकर्ताहरुले फोटो सेसन गरेको धोवीखोला कोरिडोरमा हाम्रो यात्रामा व्यवहारिक र कानुनी अवरोधका कारण निर्माण अधुरो रहेको देख्यौ।

अझ वडा नं १३ को नौलिन स्थान देखि वडा नं २ को धोवीढुंगा सम्मको खण्डका वारेमा योजना बनेपनि देखिने गरी कुनै काम अगाडी बढेको देखिएन भने सम्झौता अनुसार हुनुपर्ने सौन्दर्यिकरणको काम त धेरै प्रतिसत नै बाँकी रहेको छ।

निर्वाचनको रणभूमिमा होमिएका उम्मेदवारहरु,पुर्व र वर्तमान जनप्रतिनिधिहरु सहित नेता तथा कार्यकर्ताहरुलाई मैदानमा झारेको यस कोरिडोरको मुद्दा अनावस्यक रुपमा चर्किदा धेरै संवेदनशील र चासो मुद्दा भने ओझेलमा परेका छन।

काठमाण्डौ क्षेत्र नं ४ को शिर देखि पुछार सम्म बग्ने धोवीखोलाका वारेमा केहि उम्मेदवारहरुले विगतमा आफ्नो घोषणा पत्रमा लेखेपनि यस पटक भने यसको किनारको मात्र चर्चा भएको छ।

विस्वका विभिन्न देशमा भ्रमण गरेर शहर विचका नदी संरक्षण र उपयोगका अनुपम नमुना देखेर र हरेर आएका काठमाण्डौ क्षेत्र नं ४ का  उम्मेदवारहरुले कोरिडोर मुन्तिरको खोलाको दुर्दशा र कन्तबिजोग नदेख्नुलाई भने निकै आश्चर्यजनक रुपमा हेरिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।