भारतीय प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री महतको भेट

काठमाडौँ, २९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर भाग लिन आउने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग आज उहाँको कार्यालय नयाँ दिल्लीमा भेटघाट गर्नुहुँदै अर्थमन्त्री डा. रामशरण महत । तस्बिर ः सौजन्य नेपाली राजदुतावास, नयाँ दिल्ली, रासस ।
भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग आज उहाँको कार्यालय नयाँ दिल्लीमा भेटघाट गर्नुहुँदै अर्थमन्त्री डा. रामशरण महत । तस्बिर ः सौजन्य नेपाली राजदुतावास, नयाँ दिल्ली

आज नयाँ दिल्लीस्थित आफ्नो कार्यकक्षमा दाता सम्मेलनमा सहभागी भइदिन अर्थमन्त्री डा रामशरण महतले नेपाल सरकारका तर्फबाट हस्तान्तरण गर्नुभएको निमन्त्रणापत्र स्वीकार गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री मोदीले पुनःनिर्माणको काममा भारत नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

“नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर आउनेछु र पुनःनिर्माणको लागि नेपाललाई भारत जस्तोसुकै सहयोग गर्न पनि तयार छ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै अर्थमन्त्री डा महतले रासससँग भन्नुभयो ।

अर्थमन्त्री डा महतले भारतीय प्रधानमन्त्रीसँगको भेट अत्यन्त सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री डा महतका अनुसार प्रधानमन्त्री मोदीसँग दुई देशको आर्थिक मुद्दा र भूकम्पपछि नेपालको पुनःनिर्माण अभियानबारे छलफल भएको थियो ।
अर्थमन्त्री डा महतले विपद्को अवस्थामा भारतीय जनता र भारतीय सरकारले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।
अर्थमन्त्री डा महतले भारतले विकट स्थानमा पुगेर हेलिकप्टरबाट भूकम्पपीडितको उद्धारमा ठूलो सहयोग पु¥याएको गरेको प्रसङ्गसमेत उल्लेख गर्नुभएको थियो । “पुनःनिर्माणको समयमा पनि भारतीय जनता र भारतको सहयोग जरुरी रहेकाले त्यसमा सहयोग गर्न मैले नेपालका तर्फबाट आग्रह गरेँ,” अर्थमन्त्री डा महतले भन्नुभयो ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा महतबीचको भेट अत्यन्त सकारात्मक र उत्साहवद्र्धक भएको प्रतिक्रिया दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।