हराउँदै छ जिन्दगी : त्रिलोचनआचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६ ।
बोकेर ऋणको पोको टेकाउँ जिन्दगी कता?
टेकेर दुःखको लौरो सेकाउँ जिन्दगी कता?
खेतीअभावको गर्दै फलाउँ जिन्दगी कता?
दोबाटोमा बसेको छु लगाउँ जिन्दगी कता?
गरिबीले लखेट्दै छ गुजारौँ रात यो कता?
धोकाका चोइटा गन्दै बिर्सिऊँ घात यो कता?
डुबेर आँसुमा मैले बिर्सिऊँ बात यो कता?
होला सम्भावना सारा मेटिन्छ खात यो कता?
हाँस्दै यतै बसे हुन्थ्यो दौडिन्छ मन यो कता?
पक्का बाटो लिए हुन्थ्यो, पौडिन्छ मन यो कता?
सिधै देखिएला ठान्यो, छेकिन्छ मन यो कता?
चिसो पचाउला भन्दा, सेकिन्छ मन यो कता?
यहाँ उत्साह जुट्दैन लक्ष्य भेटिन्छ त्यो कता?
उकालो नचढी आफैँ चुली देखिन्छ त्यो कता?
नपोखी पसिना धारा नतिजा धाउला कता?
नहिँडी सत्यको बाटो चित्त रमाउला कता?
छोडिन्छ त्यागको बाटो खोजिन्छ ढाँटको फल
कता छ लुटको शक्ति कता छ फुटको बल ?
यामलाई म सोधौँ कि कता छ हितको रङ ?
घामलाई म सोधौँ के छ निरन्तरतासँग?
कता के छ ?कता के छ ? खोज्दैमा जान्छ जिन्दगी,
कता छ सुखको पाटो ? सोध्दैमा जान्छ जिन्दगी
जाँदा कता नराम्रो हो ? डराउँदै छ जिन्दगी
अनेकौँ प्रश्नका माझ, हराउँदै छ जिन्दगी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक