काठमाण्डौ क्षेत्र नं ४ : विगतका कामको स्वामित्व लिन उम्मेदवारहरु व्यस्त,भावी योजना अस्तव्यस्त

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३/पुन्यराज पुडासैनी 

मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ को  चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु विच विगतमा भएको कामको स्वामित्व लिने प्रतिस्पर्धा चल्दा भावी योजना तथा अवधारणाका वारेमा हुने छलफल र बहस अस्तव्यस्त बनेको छ।

काठमाण्डौ क्षेत्र क्षेत्र नं ४ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई विगतको समयमा भएका भौतिक पूर्वाधार  र सामाजिक विकासका योजनाहरु आफ्नो पहलमा बनेको र भएको भन्दै आक्रामक प्रचारमा देखिएका छन भने स्वतन्त्र उम्मेदवारहरु आरोप प्रत्यारोपमा व्यस्त देखिएका छन।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा मुख्य राजनीतक दलका प्रतिस्पर्धीहरु , सम्बन्धित दलका नेता तथा कार्यकर्ता,समर्थक,शुभचिन्तक र सदस्यहरुका सामाजिक संजाल अहिले विगतको समयमा भएका कामका प्रचार र कतिपय स्थानमा व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका सामाग्रीहरु समेत भेटिन्छन।

नेपाली राजनीतिका दुई प्रभावशाली युवा नेता आमने सामने भएको काठमाण्डौ क्षेत्र नं ४ सधै झैँ यस पटक पनि चर्चाको केन्द्रमा रहेको छ। नेपालका रास्ट्रपति र प्रधानमन्त्रीको निवास रहेको काठमाण्डौ क्षेत्र नं ४ मा यस पटक क्षेत्र निर्माण र विकासको वारेमा व्यापक छलफल हुनेछ भन्ने  क्षेत्रवासीको आशामा  तुषारापात हुने देखिएको छ।

विहानीले दिनको संकेत गर्छ भने जस्तै प्रारम्भिक चरणमा यस क्षेत्रमा दलहरुले देखाएको प्रचार शैली र विषय बस्तुहरु हेर्दा अवका दिनमा पनि गम्भीर विकासका मुद्दामा भन्दा पनि सतही प्रचारवाजी र विगतमुखी काममा केन्द्रीत हुने देखिन्छ।

काठमाण्डौ क्षेत्र नं ४ निर्माणका प्रमुख तिन आधार संस्कृति ,प्रकृति र पूर्वाधारका विषयमा आगामी दिनमा गरिने प्रयास र पहलका वारेमा कुनै पनि उम्मेदवारहरुले ठोस रुपमा आफ्ना धारणाहरु नराख्दा निर्वाचन दौरान हुने स्थानीय बहसहरु पनि हल्का र आरोप प्रत्यारोपमा सिमित भएका छन।

उत्तर बागद्वार देखि दक्षिण दरवार मार्ग सम्म रहेको काठमाण्डौ क्षेत्र नं ४ लाई जोड्ने विशेष योजना र कार्यक्रमका वारेमा व्यापक छलफल र बहसको अपेक्षा गरिएता पनि अहिले सम्म उम्मेदवारहरुबाट त्यसको पहल भएको देखिदैन। विगतमा निर्वाचनमा निकै चासोका साथ उठाईएका सांस्कृतिक सर्किट ,सम्पदा संरक्षण र प्रवर्धनका साथै पर्यटन र प्रकृतिका वारेमा यस पटक खासै चर्चा भएको छैन।

काठमाण्डौ क्षेत्र नं ४ का टोल टोलमा पुगेर मतदाताहरुलाई भेटघाट गरिरहेका उम्मेदवारहरुले यस पटक विगतका कामको श्रेय लिले , विपक्षीको आलोचना गर्ने र आफ्ना उम्मेदवारहरुको प्रसंशा गर्ने बाहेक खासै दुरगामी महत्वका मुद्दा नउठाएको अवस्था  क्षेत्र वासीहरु अहिले उनीहरुको प्रतिवदत्ता पत्रको व्यग्र प्रतिक्षामा रहेका छन।

काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवारहरुको प्रतिवद्दता पत्र विगतको जस्तै निवन्ध शैलीमा भाववादी रंगमा आउछ कि क्षेत्रको आगामी चित्र सपाटरुपमा देखिने गरी आउछ त्यसका लागि भने केहि दिन पर्खनुपर्नेछ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।