संविधानसभाको निर्वाचन घोषणा असंवैधानिक रहेको कांग्रेस -एमालेको दावि

कांग्रेसद्धारा राजधानीको गौशाला चोकमा विरोध प्रदर्शन

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनशक्ति पार्टी तथा साना दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईले आईतबार मध्यरातमा घोषणा गरेको चुनावलाई असंवैधानिक ठहर गर्दै अस्वीकार गरेका छन् ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग गर्दै आज नेपाली कांग्रेसले राजधानीको गौशाला चोकमा विरोध प्रदर्शन गरेको छ । विरोधका सहभागीहरुले संविधानसभा विघटन गरि निर्वाचनको मिति तय गर्नु गैरसंवैधानिक भएको भन्दै नारावाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम तुरुन्त फिर्ता नभए कडा विरोधमा उत्रने चेतावनी दिए । उनीहरुले प्रधानमन्त्रीको पुत्लासमेत जलाएका थिए ।

यसैबीच कांग्रेस मुख्यालय सानेपामा हिजो भएको सर्वदलीय बैठकले संविधान सभाको नयाँ निर्वाचनको घोषणा असंवैधानिक हुनुका साथै सत्ताकब्जा गर्ने नियतले संविधानसभा भङ्ग गरेको ठहर गरेको हो । संविधान सभाबाट चुनिएका प्रधानमन्त्री भट्टराई सोही संस्था नै विघटन भएलगतै प्रधानमन्त्री कामचलाउ बनेको ठहर उनीहरुको छ । साथै राष्ट्रिय सहमतिको सरकारका लागि राष्ट्रपतिले पहल गर्नुपर्नेमा पनि नेताहरुले जोड दिएका छन् । बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ताजा चुनाव गरेर दुई तिहाइ बहुमत पु¥याउने माओवादी सपना कहिल्यै पूरा नहुने चुनौति दिनुभयो ।

एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको संविधान विरोधी कदमलाई नङ्गगाउने भन्दै एकतावद्ध भएर अगाडि बढ्ने बताउनु भयो । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले निरंकुश सत्तालाई लम्ब्याउने उद्देश्यले एकलौटी ढंगले र असंवैधानिक तरिकाले चुनाव घोषणा गरिएको जिकीर गर्नुभयो । अर्का कांग्रेस नेता डा. रामशरण महतले पाँच पाँच घण्टा त्यसै अल्झाएर एकाएक संविधानसभा विघटन गर्नुका पछाडि गलत नियत रहेको बताउनु भयो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनशक्ति पार्टीका शीर्ष नेता लगायत साना पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।