सोह्रबुँदे सहमतिको वैद्य नेतृत्वको नेकपा—माओवादीद्वारा विरोध
काठमाडौँ, २७ जेठ । नेकपा–माओवादीले संविधान लेखनलाई अघि बढाउने सन्दर्भमा चार प्रमूख दलले गरेको १६ बुँदे सहमतिको विरोध गरेको छ ।
दलको स्थायी समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मोहन वैद्यले १६ बुँदे सहमति राष्ट्रघात र जनघातकै निकृष्ट नमुना हुनुका साथै पश्चगामी परिघटनाका रुपमा देखिएको बताउनुभयो ।
“भूकम्पका कारणले मुलुक दुःखमा रहेर विपद् व्यवस्थापनमा केन्द्रित रहनुपर्ने बेलामा संसदीय संविधान निर्माणका लागि संसद्वादी शक्तिका बीचमा सम्झौता गरिनु जनताको संवेदनशीलताप्रतिको अपमान हो,” सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सर्वपक्षीय राजनीतिक सम्मेलनका आधारमा संविधान जारी गर्नुपर्ने अडान दोहो¥याउँदै अध्यक्ष वैद्यले राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्रको स्थापना, जनजीविकाको सुनिश्चितताका लागि नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा लाग्नुपर्ने बताउनुभयो ।
“पार्टीद्वारा तय गरिएको तत्कालीन मुख्य कार्यनीति राष्ट्रिय संयुक्त सरकार, अधिकारसम्पन्न सर्वपक्षीय राजनीतिक सभा तथा जनसंविधानको औचित्य घटनाक्रमले झन्झन् पुष्टि हुँदै गएको छ,” विज्ञप्तिमा भनिएको छ ।
पार्टी एकताका लागि विभिन्न चरणमा कुरा भइरहेको अवस्थामा संसद्वादी दलसँग १६ बुँदे सहमति गरी एनेकपा (माओवादी)ले गम्भीर विश्वासघात र द्वैधचरित्र देखाएका कारण ऊसँग तत्काल एकता प्रक्रियालाई निरन्तरता दिनु पार्टीका लागि घातक हुने सो पार्टीले ठहर गरेको छ ।
नेपाली भू–भागभित्रको लिपुलेकलाई भारत–चीनबीचको व्यापार विस्तार गर्न प्रयोग गर्ने भनी भारत–चीनबीच भएको सम्झौताप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले नेपालको सार्वभौमिकताको सम्मान गर्न दुवै देशसँग माग पनि गरेको छ । रासस