अन्तर्राष्ट्रिय स्तरका बौद्धगुरुले चारुमती विहारलाई सहयोग गर्ने
काठमाडौँ, २६ जेठ । अन्तर्राष्ट्रिय स्तरका बौद्ध गुरु तथा विद्वानले चावहिलस्थित चारुमती बुद्ध विहारको भ्रमण तथा निरीक्षण गरेका छन् ।
भूकम्पपछि त्यस क्षेत्रमा भएको क्षति तथा जोखिम व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य रहेको छ । वल्र्ड बुद्धिस्ट फिलोसफी युथ (डब्लुबिपिवाई) का अध्यक्ष पोन्चाईले भूकम्पका कारण नेपालका ऐतिहासिक महत्वको सो विहारमा क्षति पुगेकोमा चिन्ता व्यक्त गर्दै त्यसको जीर्णोद्धारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सिङ्गापुरका बौद्ध गुरु सिए वानले त्यस विहारमा हुने विभिन्न धार्मिक गतिविधिले विभिन्न मुलुकमा बौद्ध शिक्षा तथा उपदेशलाई फैलाउन सहयोग पुगेको र त्यसको संरक्षणका लागि जोड दिनुभयो । उक्त विहारका प्रमुख एवम् अन्तर्राष्ट्रिय युवा बौद्ध भिक्षु सङ्घका उपाध्यक्ष भिक्षु तपस्सी धम्मले विनाशकारी भूकम्पले देशका प्राचीन महत्व बोकेका विहार तथा गुम्बालगायत सम्पदा नोक्सान भएको र यसको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।
यसैबीच, सो विहारले काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, दोलखालगायतका भूकम्पपीडितलाई करिब रु २१ लाखको राहत सामग्री उपलब्ध गराएको छ । रासस