भू–स्वर्गझैँ छ : त्रिलोचन आचार्य ( कविता )

भू–स्वर्गझैँ छ : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

१. टाढा हुने नगर दाउ यतै रमाऊ
होऊँ यहाँ गरिब जत्ति सहन्छु घाउ
हेर्दै रमौँ प्रकृतिको उपहार वेश –
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

२. त्यो हेर त्यो चहकिलो छ हिमाल कस्तो ?
त्यो हेर त्यो शिखर शान्त विशाल कस्तो ?
त्यो उर्वरा जमिन हेर खुला अशेष
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

३. जाऊ परन्तु परदेश घुमेर आऊ
सिक्दै नयाँ प्रविधि देश भरी सिकाऊ
छोडेर बस्न घर के सुख हो विशेष
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

४. यी शैल फाँट पहरा लहरा अनेक
यी ताल स्वच्छ छहरा अनि रम्य भेक
मैदानले चउरले सजिँदो छ देश
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

५. डाँफे मुनाल वन फाँट डुली रहेछन्
यी घाम जून जग भर्न कुदी रहेछन्
धायो वसन्त नव आँट दिँदै हमेशा
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

६. बाँझो खने जरुर फल्दछ अन्न नाना
चाहिन्न है महल टाल्नु बसेर छाना
टाढा गएर किन खप्नु उता अत्यास
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

७. पोखेर दिव्य पसिना घर यो सपार
शंका र त्रास बिचमा दिल यो नझार
हेर्छन् मुना वन भरी नभुली निमेष
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

८. देखी अनेक सपना किन कुद्न खोज्छौ
केही हुँदैन घरमा किन भन्न खोज्छौ
के भन्छ के त्यति कुरा नबुझी रमेश
भूस्वर्ग यैँ छ किन दौडनु त्यो विदेश ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।