संविधानसभाको निर्वाचन अब फेरी हुँदैन: महत

१७ जेठ, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले फेरी संविधानसभाको निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् ।

आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरिसकेको दावी गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको प्रमाणित भएको उनको धारणा थियो । उनले असंवैधानिक सरकारले घोषणा गरेको निर्वाचनमा आफूहरु जान नसक्ने बताउँदै निर्वाचन गर्ने बहानामा सत्ता कब्जा गर्ने सुर माओवादीको रहेको बताए ।
उनले सनो आकारको प्रत्यक्ष निर्वाचित संसदमा हुनेगरी संसदको निर्वाचन गर्नु पर्ने बताए । उनले भने, ‘प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै थाहा हुन्छ कसरी मिलाएर अगाडि बढ्ने भन्ने कुरा । समानुपातिबाट आएकालाई थाहा हुँदैन । प्रत्यक्ष निर्वाचनलाई नै समानुपातिक बनाउनु पर्छ ।’
उनले राष्ट्रपतिको कदमको स्वागत गर्दै मुलुकको निकास राष्ट्रिय सहमतिबाट मात्र सम्भव रहेको बताए । उनले भने, ‘निकास सहमतिको राजनीति हो । सहमतिको सरकार गठन हो ।’
कार्यक्रममा उपस्थित नेकपा एमालेका सचिव यूवराज ज्ञावलीले माओवादी सरकार र संविधानमध्ये सरकार टिकाईरहने निष्कर्षमा पुगेकोले संविधानसभा विघठन गरेको दावी गदै संविधानसभाको विघठन अचानक नभई पूर्व योजना अनुसार नै गरिएको आरोप लगाए । उनले भने, ‘सर्वसत्तावाद लाद्ने षडयन्त्र अनुसार नै संविधानसभा विघठन गरिएको हो । माओवादी एकल रुपमा देश चलाउन अरु दललाई सखाप पारेर अधिनायकवाद लागु गर्न खोज्दैछ । माओवादी संविधानको भर्याङ चढेर सर्वसत्तावाद लागु गर्ने सोचका साथ अगाडि बढेको छ । ‘
मंसिर ७ गते निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै उनले अब सहमतिमा संविधान निर्माण हुने सुनिश्चितता पछि मात्रै संविधानसभाको निर्वाचनमा जान सकिने बताए ।
साक्षात्कारमा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकार कामचलाउनै भएको भन्दै राष्ट्रपतिले त्यस विषयमा बोल्न आवश्यक नभएको बताए । यदपि उनले राष्ट्रपति पनि राजनीतिक ब्यक्तिनै भएकोले उनले संवैधानिक नभई राजनीतिक निकास दिन खोजेको टिप्पणी गरे ।
तपाइँको प्रतिक्रिया ।