चुनावी मैदानमा आमने सामने होलान एक समयका सहयात्री कुसुम कुमार कार्की र उद्दव खरेल ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

लामो समय सम्म संगै राजनीतिक सहयात्रा गरेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुसुम कुमार कार्की र नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य उद्दव प्रसाद खरेल प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उत्रिने सम्भावना बढे संगै काठमाण्डौ क्षेत्र नं ४ (२ ) को माहोल निकै तातेको छ।

नेकपा एमालेको संगठन निर्माणमा विभिन्न कमिटी तथा अभियानहरुमा लामो समय सहयात्रा गरेका कार्की र खरेल अहिले फरक पार्टीबाट चुनावी मैदानमा आउने सम्भावना बढेको चर्चा हुन् थालेको छ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक महांकाल गाविसको अध्यक्ष बनेका कार्की र  चपली गाविसको अध्यक्ष बनेका खरेलले पार्टी जीवनको इलाका स्तर देखि नै निरन्तर सहकार्य गर्दै आएका थिए।

नेकपा एमालेको विभाजन संगै अहिले फरक पार्टीका नेता बनेका कार्की २०७४ सालमा बागमती प्रदेस सभा सदस्य र खरेल बुढानिलकण्ठ नगर प्रमुखमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

प्रदेस सभा सदस्य कार्की  मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारका रुपमा मैदानमा आउने तयारी गरेका छन भने खरेल पनि नेकपा एमालेको उम्मेदवार बन्ने मजबुत कसरतमा लागेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा चौथो पटक सांसद बन्नका लागि मैदानमा आउने तयारी गरेका कांग्रेस महामन्त्री गगन थापालाई  “कुसुम कम्फरटेवल” हुने विश्लेषण सहित गठबन्धनको अभ्यास सुरु भैसकेको अवस्थामा नेकपा एमालेबाट सर्वसम्मत सिफारिस भएका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईलाई खरेलको साथ प्रभावशाली र सहज हुने चर्चा पनि क्षेत्रमा व्यापक चलेको छ।

पार्टी जीवनमा हरेक पटक एक अर्कालाई निकट रुपमा सघाउदै आएका कार्की र खरेल चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा आएको अवस्थामा संघीय क्षेत्र संगै काठमाण्डौ क्षेत्र नं ४ (२ ) को चुनावी माहोल पनि निकै रोचक बन्ने अनुमान गरिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।

कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर  १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार हरुले ८,६८० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले पाप्त गरेको मतमा नेकपा एमालेले  २,७३५ मत बढी प्राप्त गरेको छ।

निर्वाचन  आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।