मनोहरा खोलामा दुई वटा पुलको शिलान्यास
कपन अनलाइन
काठमाडौं असोज ३। काठमाडौ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा दुई वटा पुलको शिलान्यास भएको छ । दुई पुल मध्ये एउटा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको वडा नं७ धुन्चेपाखा र काठमाण्डौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ जोड्ने छ भने अर्को पुलले चाँगुनारायण नगरपालिका वडा नं १ सोमथली बेसी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं६ मैंचाखेल जोड्ने छ ।
पुलको बागमती प्रदेशका भौतिक विकास तथा पुर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले गरेका हुन । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भँडेलले कांग्रेस भाषण होइन काम गरेर देखाउने पार्टी भएको दावी गरेका थिए । उनले भाषण गरेर जनता भुलाउने दिन गइसकेको भन्दै नेपाली कांग्रेसले भाषण भन्दा काममा जोड दिने बताए। उनले पुल दुइ बर्ष पछि उद्घाटन गरिने भन्दै सडक पुल पुलेसा ढल खानेपानि लगायतका विकासका संरचना कुनै दल वा नेता बिशेषको नभई जनताको साझा सम्पति भएकोले निर्माण कार्यमा सबैको सहयोग आवश्यक भएको बताए । पुल निर्माणपछि कोदारी राजमार्गको बैकल्पिक सडकको रुपमा काठमाण्डौ, भक्तपुरबाट काभ्रे, सिन्धुपाल्चोक लगायतको जिल्लाहरुमा पुग्न समेत सहज हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले के पी शर्मा ओलीमा नयाँ जंगबहादुर र ज्ञानेन्द्र बन्ने चाहना पलाएकाले गठबन्धन आवश्यक परेको बताएका थिए । उनले गठबन्धनमार्फत मुलुकलाई खाडलमा पर्न बाट जोगाएको दावी गर्दै संघ र प्रदेशको निर्वाचनले मुलुकलाई स्थायित्व र समृद्धिको यात्रामा लैजाने हुँदा सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले हरहर महादेवमा विगतको सिमानाको विवाद समाधान गरेर पुल निर्माण कार्यलाई अघि बढाएको बताए । उनले मनोहरा खोलामा बन्ने दुई वटा पुल दुई जिल्लाको मितेरी पुलको रुपमा विकास हुने र दुई जिल्लाका नागरिकको आर्थिक समृद्धिका साथै दैनिक जीवनयापन सहज बनाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।बागमती प्रदेश पुर्वाधार विकास विभागका निर्देशक लोकनाथ रेग्मीले दुई वटै पुल दुवै जिल्लाको लागि अति आवश्यक र महत्वको भएकाले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने योजनाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।बागमती प्रदेश पुर्वाधार विकास कार्यालय प्रमुख भरतकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, संविधानसभाका पुर्व सदस्य दिपक कुईकेल, बागमती प्रदेश पुर्वाधार विकास कार्यालय प्रमुख भरतकुमार यादव लगायत स्थानीयको उपस्थिती रहेको थियो ।