गगनले करिव १४ र कुसुमले ५ वर्षपछि चुनावको मुखैमा सम्झिए कपन डुवान समस्या ……

कपन अनलाइन

काठमाण्डौ,भाद्र २६।

बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रले सामाजिक संजालहरु र संचार माध्यमहरुमा निकै प्राथमिकताका साथ स्थान पाइरहेको छ।

कुनै ठुलै चमत्कार वा उपलव्धि हासिल गरेर चर्चामा आएको भए कपन क्षेत्रमा निकै उत्साह हुन्थ्यो होला तर पछिल्लो चरणको चर्चाले कपनवासीको  शिर सधै नुहाउने गरेको छ। यसरी कपनवासीको मनोविज्ञान र भौतिक कस्टको कारण हुन् निकै चर्चामा छ त्यो हो “कपन डुवान समस्या”।

करिव २ दशक देखि कपनवासीलाई निरन्तर प्रताडना दिने डुवान समस्यामा पछिल्लो पटक धोवीखोला र बुढानिलकण्ठ दुई फुर्का थपिए संगै  पुन निकै चर्चामा आएको छ। दुई दशक देखि भैरहेको डुवान समस्यलाई समाधानका लागि भएका विभिन्न प्रयासहरु पानी संगै बगेपछि अहिले चुनावको सिजन पारेर धोवीखोला -कपन -बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना भन्ने नयाँ योजनाका वारेमा छलफल सुरु भएको छ।

काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि भएको करिव १४ वर्ष पछि सांसद गगन कुमार थापाले र प्रदेस सभा सदस्य भएको करिव ५ वर्ष नजिक पुग्दा कुसुम कुमार कार्कीले बल्ल यो समस्याको औपचारिक सम्बोधन गर्ने प्रचारमुखी प्रयास थालेका छन।

शहरी विकास मन्त्रालय अन्तर्गत काठमाण्डौ उपत्यका विकास प्राधिकरणको कार्यालयमा भाद्र २६ गते छलफलमा जुटेका सांसदहरुका साथमा नेपाली कांग्रेस र नेकपा एसका नेता कार्यकर्ता सहित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

काठमाण्डौ क्षेत्र नं ४ को चुनावी परिणामलाई प्रभावित गर्न सक्ने निर्णायक मत रहेको कपन क्षेत्रको डुवान समस्यालाई चुनावी मुद्दा बनाउने उदेस्यले हतार हतार ( १४ र ५ वर्ष मौन ) गरिएको सो छलफलमा तत्कालको समस्या ,गुरुयोजना निर्माण र आयोजनाको नाम र कार्यक्षेत्र विस्तार लगायतका विषयमा गम्भीर चर्चा गरिएको एक सहभागीले जानकारी दिएका छन।

आज बिहान छलफल सुरु भए देखि सम्पन्न भएपछी सम्म विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले सामाजिक संजालमा कपन लक्षित ट्याग र मेन्सन गर्दै शेयर गरिएका सामाग्री र फोटोहरुबाट पनि प्रस्ट भन्न सकिन्छ कि यो प्रयास चुनाव लक्षित स्टन्ट हो नत्र अहिले करिव १६ करोड भन्दा बढीको लागतमा निर्माण भैरहेको बक्स कल्भर्ट अलपत्र पार्ने गरी किन आयोजनाको काम अगाडी बढाइयो ? यो प्रश्न डुवान पिडितहरुले उठाइरहेका छन।

कपन डुवान क्षेत्रमा बेला बेलामा पर्यटक झैँ आएर दुइ चार थान सेल्फी खिचेर हिडेका कतिपय सांसदहरुको चुनाव र चाडबाडको मुखैमा देखिएको अस्वाभाविक सक्रियता पुन: कपनवासीलाई भुलाउने प्रपन्च मात्र भएको चर्चा कपन डुवान क्षेत्रमा आज व्यापक बनेको छ।

चर्चित कथाको छेपारोले झैँ वर्षामा सम्झिने र हिउँदमा विर्सने गरेको कपन डुवान समस्यालाई चुनावको मुखमा आएर ठुलै उपलव्धि जसरि एउटा बोर्ड राखेको विषयलाई समेत प्रचार गरिनु र छलफललाई प्राथमिकताका साथ प्रस्तुत गर्नु केवल चुनावी स्टन्ट हो कि भनेर आशंका गर्न सकिने नकै बलियो आधार रहेको एक डुवान पिडित विद्यालय संचालकले बताए।

अवको १५ दिन पछी दशैँ सुरु हुन्छ ,त्यसपछि तिहार अनि चुनाव ,यसको काम चाही कहिले सुरु हुनेहोला ?  भन्ने व्यंग्यात्मक प्रश्न गर्दै उनले नाम परिवर्तन ,क्षेत्र विस्तार र अन्य विभिन्न बहानामा फेरी पनि वर्षौ डुवान मै बस्नुपर्ने होकी भन्दै चिन्ता समेत ब्यक्त गरेका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।