कागेश्वरी महादेव मन्दिरमा तीन दिन सम्म मेला लाग्ने ,भोली साहित्यिक कार्यक्रम गरिदै

कागेश्वरी महादेव मन्दिरमा तीन दिन सम्म मेला लाग्ने ,भोली साहित्यिक कार्यक्रम गरिदै

कपन अनलाइन

काठमाडौँ भाद्र १६।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको धार्मिक पर्यटकीय स्थल कागेश्वरी महादेव मन्दिरमा तीन दिन सम्म मेला  गरिने भएको छ । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक बर्षझै भाद्र शुक्ल अष्ट्मीको दिनमा लाग्ने मेलाको अवसर पारेर यस पटक  भोलि १७ गते  देखिनै बिभिन्न कार्यक्रम गरिने भएको छ  । भोलि साहित्यिक कार्यक्रम गर्न लागिएको जानकारी दिदै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले  मेला व्यवस्थापनको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी सहित सो   मेलामा  उपत्यका लगायत देशभरका दर्शनार्थीहरुलाई आउन आग्रह गरेका छन ।

सो मेलालाई व्यवस्थित बनाउन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख  उपेन्द्र कार्कीको संयोजकत्वमा नगर उप प्रमुख शान्ता थापासहित कार्यपालिका सदस्य रहेको १९ सदस्यीय मूल आयोजक समिति निर्माण गरेको वडा अध्यक्ष गजुरेलले जानकारी गराए । मूल आयोजक समितिका साथै मन्दिर ब्यबस्थापन समितिले पनि महत्वपूण जिम्मेवारीका साथ मेला सफल बनाउने भएको छ । आजबाटै नै सरसफाई कार्यक्रम सुरु गरेको समितिले  मेलालाई आकर्षक बनाउन स्थानीय खाद्य उत्पादनको प्रर्दशन तथा विविधि साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।

 नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । यो महामेला ३ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने महामेला आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने महामेलामा आन्तरिक तथा बाह्य क्षेत्रबाट १ लाख ५० हजारजति पर्यटक आउने अनुमान गरिएको छ ।भाद्र शुक्ल अष्ट्मीको  दिन कागेश्वरी महादेव मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गरि दर्शन गरेमा मनोकामना हुने जन विश्वास रहेको छ साथै यमराजको दुत कागले मानिसलाई छुदा अशुभ हुने र त्यस बाट मुक्त हुन कागेश्वोरी मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्नु पर्ने धार्मिक मान्यता रहेको छ ।

सोहि दिनलाई कागे अष्टमी पनि भनिन्छ । कागेअष्टमी मेलाको दिन गोसाइँकुण्डमा मेला भरेका दर्शनार्थीले त्यहाँ बाट ल्याएको जल कागेश्वोरी महादेबलाई चढाएपछी तीर्थ यात्राको मनोकामना पूरा हुने विश्वास समेत रहिआएको छ ।नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने गरेको लामा गुरुको धारणा छ । कागे अष्टमीका दिन आफ्नो खेतबारीमा फलेको मकै कागेश्वरीमा महादेवलाई चढाएमा कागले खेतबारीमा गई मकै खाँदैन भन्ने जन विश्वाससमेत रहेको छ ।

अघिल्लो वर्ष कोरोनाको कारण  मेला संचालन हुन सकेको थिएन ।उपत्यकाको मनमोहक दृश्यावली अवलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभव लिन तथा आकर्षक ग्रामीण भेग नियाल्नको लागि पनि सो उपयुक्त स्थल रहेको र बार्है महिना आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण निर्माणको लागि परेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेलले बताए ।

तपाइँको प्रतिक्रिया ।