मनास्लु वर्ल्ड कलेज चावहिल चुच्चेपाटीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं भाद्र ६ । मनास्लु वर्ल्ड कलेज काठमाण्डौ महानगरपालिका वडा नं ७ चुच्चेपाटी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बिच मनास्लु वर्ल्ड कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो । कलेजका प्रिन्सिपल गेन्द्र लामाको अध्यक्षता, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता, पत्रकार ऋषि धमलाको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले स्वागत मन्तब्य राख्दै ,’स्थापनाकालको तेस्रो वर्षमै आफूलाई प्रमाणित गर्दै मनास्लुले आफ्नो अस्तित्व स्थापित गरेको बताए । करिब १० हजार विद्यार्थीहरूले कक्षा ११ पढ्नका लागि मनास्लुमा `इन्क्वाइरी´ गरेको र त्यस मध्य प्रवेश परीक्षा मार्फत छानिएर ६०० विद्यार्थीले मात्रै भर्ना हुन पाएको हुँदा उपस्थित विद्यार्थीहरू भाग्यमानी भएको उनको भनाइ रहेको थियो ।देशभरबाट उज्ज्वल भविष्य निर्माण गर्ने महान् अभिलाषा बोकेर आएका सबै विद्यार्थीको सपना पूरा गर्न मनास्लु सफल हुने विश्वास सहित उनले सबै विद्यार्थीलाई स्वागत गरेका थिए । कार्यक्रममा पत्रकारऋषि धमलाले मनास्लुले आश्चर्यजनक रूपमा छोटो समयमै लोभलाग्दो प्रगति गरेको र यही गतिमा गए देशको समग्र शैक्षिक भविष्य नै परिवर्तन गर्न सक्ने बताए । नेपालमा आज शिक्षाको विकास हुन नसकेकै कारण पछाडि परेको भन्दै उनले हरेक क्षेत्रमा भोलि मनास्लुका विद्यार्थीले नेतृत्व गर्ने विश्वास आफूले लिएको बताए । अबको पुस्ताले समग्र देशको जिम्मा लिनुपर्ने बताउदैँ उनले विद्यार्थीलाई त्यसका लागि हिम्मत र शाहस देखाउन सुझाव दिएका थिए ।
कार्यक्रममा प्रत्येक विषय किन र के का लागि पढ्ने ? मनास्लुमा त्यो विषयको अध्यापन कसरी हुन्छ ? लगायत विषयमा विभाग प्रमुखहरूले छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । त्यस्तै, मनास्लुले विभिन्न विषयहरूमा दिने सुविधा र ती विषयका विशेषताहरू बारे जानकारी दिँदै मनास्लुका एकेडमीक हेड शशी के.सीले कलेजको पहिलो उद्देश्य बोर्ड टपर बन्ने रहेको बताए । सँगै इसिएमा उत्कृष्टता ल्याउने अर्को उद्देश्य पनि कलेजले राखेको उनको भनाई रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गगन थापाले, आफ्नो विद्यार्थी कालको अनुभव सुनाउदैँ उनले प्लस टु पढ्ने उमेर अति संवेदनशील हुने भन्दै यो उमेरमा विद्यार्थीले अपनाउनुपर्ने सजगताका बारे सचेत गराएका थिए । उनले आफ्नो जीवनको उद्देश्य पत्ता लगाउन र निरन्तर त्यसमै लाग्न विद्यार्थीलाई सुझाव दिदै आज आफूले गर्ने निर्णयको भोली जीवनभर आफैले बोक्नुपर्ने भन्दै सही निर्णय लिन, प्रविधिको सही सदुपयोग गर्न र सकारात्मक धारणा बनाउन विद्यार्थीलाई अपिल गरेका थिए । छोटो समयमै आफ्नो गुणस्तरबाट आफूलाई प्रमाणित गर्न सफल मनास्लु सँग विद्यार्थीको शैक्षिक यात्रा अर्थपूर्ण बन्ने विश्वास आफूले लिएको उनको भनाई थियो ।
त्यस्तै, कलेज प्रमुख राजन श्रेष्ठ धरातलले विद्यार्थीहरूले कलेजप्रति देखाएको विश्वास प्रति आफुहरू कृतज्ञ रहेको र भोलिका दिनमा अझै उत्कृष्ट नतिजा ल्याई विद्यार्थीहरूले कलेजको नाम उच्च राख्ने विश्वास आफुहरूले लिएको बताए ।“यो वर्ष कक्षा ११ मा ६०३ जना विद्यार्थी भर्ना गरेका भन्दै नयाँ शैक्षिकसत्रको पठनपाठन भदौ ६ गतेबाट गर्ने तयारी गरेको बताए । कलेजले विशेषगरी म्यानेजमेन्ट, ह्युम्यानिटिज, स्पोर्ट्स साइन्स, विजनेश स्टडिज र साइन्स अन्तरगतका कोर्शहरू पठनपाठन गराउँदै आईरहेका बताए ।कार्यक्रममा, उत्प्रेरक वक्ता विकास देव योञ्जन, कमेडियन महादेव त्रिपाठी, गायक उर्गेन दोङ लगायत विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूले प्रस्तुति राखेका थिए ।