साँखुमा सापारु (गाईजात्रा) श्रावण २८ गते निकालिने !
कपन अनलाइन
काठमाडौं साउन २२ शंखरापुरमा नेवार समुदायले मृतकको नाममा निकालिने सापारु, साया अर्थात गाईजात्रा पर्व यही श्रावण २८ गते शनिवार गर्ने निर्णय गरेको छ ।श्रावण १७ गते बसेको साँखुका सरोकारवालाहरुको भेलाले उक्त निर्णय गरेको हो ।
साँखुको परपम्परा अनुसार ज्योतिर्लिङ्गेश्वरको जात्रा पूरा नभई सापारु निकालिने प्रचलन नरहेको हुँदा जनै पूर्णिमा (क्वाँटी पुन्हि) का दिन ज्योतिर्लिङ्गेश्वरको जात्रा हुने भएकोले भोलिपल्ट सापारु गाईजात्रा निकालिने निर्णय गरिएको जानकारी न्हुदँ समारोह समिति ११४२ का अध्यक्ष माधव श्रेष्ठले बताएका छन ।
यस वर्ष पूर्णिमाको भोलिपल्ट प्रतिपदा नभई एकैपटक द्वित्तिया तिथि परेको हुँदा टोल सुधार समितिका अध्यक्षहरु र सरोकारवालाहरुको बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकको आयोजना न्हुदँ समारोह समितिले गरेको हो । बैठकमा साँखुका मूलपुरोहित आनन्द राजोपाध्याय र बज्राचार्य समूहको प्रतिनिधित्व गर्दै तिलकमानन्द बज्राचार्यको उपस्थितिमा यस सम्बन्धी निर्णय गरिएको हो ।
तस्बिर :लावण्य संदेश