परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत बजारमा

परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत बजारमा

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ ।

चन्द्रमणि भट्टराईको शव्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।

भिडियोमा सुबोल थापाको सह निर्देशन रहेको छ । यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियोको बारेमा निर्देशक विष्ट भन्छन्, ‘भिडियोलाई हामीले घरभित्रको परिवेशमा खिचेका छौँ । भिडियो खिच्न हामी पार्टी प्यालेसमा गएनौँ । हामीलाई थाहा छ, तीज पर्व पारिवारिक र सामाजिक पर्व हो । यसको मर्मलाई भिडियो निर्माणको मुख्य आधार बनाएका छौँ ।’ पात्र चयनमा विषयमा कुरा गर्दै निर्देशक विष्टले, संयुक्त परिवारमा हुने हजुरआमा, आमा, फूपू, भाउजू, नन्द, छोरी बुहारी र उहाँहरुको मनोविज्ञानलाई भिडियोमा उतार्न खोजिएको बताए । सृङ्गार, गरगहना र पहिरनमा ख्याल गरिएको छ । भिडियोलाई भड्किलो हुनबाट बचाउने प्रयास गरिएको छ । विष्टको भनाइ छ ।

विवाहित महिलाको सृङ्गार र सृङ्गारभित्रको भावनात्मक उत्सुकतालाई तीजको परम्परागत पक्षसँग जोडेर देखाएका छौँ । गायिका तथा नायिका अमात्य भन्छिन्, ‘दर खाने र हरितालिका तीजमा व्रत बस्ने मुख्य क्रियाकलापलाई पारिवारिक वातावरणमा प्रस्तुत गरेका छौँ ।’

गीत सिर्जना गर्दा तीज पर्वको संयोगान्त र वियोगान्त दुवै पक्षको विश्लेषण गरेर बदलिँदो परिवेशअनुकुल बनाउन खोजिएको छ । गीतकार भट्टराईकाअनुसार, तीज कुनै बेला वेदनाका गीत गाउने पर्व थियो । त्यो पक्ष भनेको शास्त्रीय नभइ सामाजिक परिवेश थियो ।

हेर्नुहोस भिडियो :

तपाइँको प्रतिक्रिया ।