काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ ,साउन १४।
मंगसिर महिनामा प्रदेस सभाको निर्वाचन घोषणा हुने संभावना बढिरहेको समयमा काठमाण्डौ क्षेत्र नं ३ ( २ ) मा राजनितिक माहोल तातेको छ।
गोकर्णेश्वर नगरपालिकाका ७ वडा र कागेश्वरी मनोहरा नगरपालिकाका ३ वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ (२ ) बाट प्रदेस सभा सदस्यको उम्मेदवार बन्नका लागि राजनीतिक दलका नेताहरु अहिले तीव्र आन्तरिक परामर्श र कसरतमा लागिरहेको अवस्थामा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।
दुई नगरपालिकाका १० वटा वडा रहेको यस निर्वाचन क्षेत्रका ८ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १११४७ रहेको छ भने नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९४५४ रहेको छ । निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमाले १६५३ मतले अगाडी रहेको छ।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२ , नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले १३१४ मत प्राप्त गरेका छन ।
२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका रामेश्वर फुँयाल निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका बिमल ठकुरी निकटतम प्रतिद्वन्दी रहेका थिए।