सेन्ट लरेन्स कलेज चावहिललाइ कलेज एक्सिलेन्स अवार्ड
कपन अनलाइन
काठमाडौं,साउन १२। चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीहरुलाई सम्मान गरिएको छ । नेपालका प्रथम राष्ट्रपति डा यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएको हो । नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी शिक्षा पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो । सम्मेलनमा डा. यादवका नाममा स्थापित प्रेसिडेन्ट इन्टरनेशनल अवार्ड २०२२ अन्तर्गत कलेज एक्सिलेन्स अवार्ड सेन्ट लरेन्स कलेजले प्राप्त गरेको छ।
केही समयअघि उत्कृष्ट कलेजको रूपमा सम्मानित तथा स्वतन्त्र मिडियाहरूले विभिन्न मापदण्ड र आधार तय गरेर गरेको अध्ययनका क्रममा उत्कृष्ट १० प्लस टु कलेजभित्र पर्न सफल चाबहिलको सेन्ट लरेन्स कलेजले एक्सिलेन्स अवार्ड प्राप्त गरेको हो ।भारतको हिमाक्षरा संस्था र नेपालको शिक्षालय राष्ट्रिय मासिकको संयुक्त आयोजनामा भएको सो कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई संयुक्त रूपमा सो अवार्ड प्रदान गरेकी हुन् । लामो शैक्षिक अनुभव र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको आधारमा सेन्ट लरेन्स कलेजलाई सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
भारतीय शैक्षिक संस्था हिमाक्षराबाट डा.एपी जे अब्दुल कलाम अवार्ड २४ व्यक्ति र शैक्षिक संस्थालाई प्रदान गरिएको थियो भने नेपालको शिक्षालयले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको सम्मानमा प्रेसिडेन्ट ईन्टरनेशनल एजुकेसनल अवार्डबाट २१ विधामा विभिन्न शैक्षिक व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। शैक्षिक सम्मेलनमा नेपाल, भारत फ्रान्स, होल्याण्ड, साउदीअरब र कुवेतलगायतका १० देशका शिक्षाकर्मीको सहभागिता रहेको थियो ।