बीपी कोइराला राष्ट्रिय पुरस्कार २०७८ प्रदान गरियो

बीपी कोइराला राष्ट्रिय पुरस्कार २०७८  प्रदान गरियो

कपन अनलाइन

 काठमाडौं साउन ८ । नेपाल सरकारले राजनेता एबम बरिष्ठ साहित्यकार बीपी कोइरालाको नाममा स्थापना गरेको बीपी  कोइराला राष्ट्रिय पुरस्कार, २०७८ पुरस्कार प्रदान गरिएको छ । ४० औं बीपी स्मृति दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा आयोजित  एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइराला साहित्यिक विधातर्फ डा. विष्णुविभु घिमिरे र डा. धु्रवचन्द्र गौतमलाई तथा बीपी कोइराला राजनीतिक दर्शन विधातर्फ पुरुषोत्तम बस्नेत र बीपी सङ्ग्रहालयलाई प्रदान प्रदान गरेका हुन । बीपी सङ्ग्रहालयको तर्फ बाट संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले पुरस्कार ग्रहण गरेका थिए ।

 बीपी कोइरालाले मुलुकको राजनीतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारले गत आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी बीपी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गरेको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले  नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको विशिष्ट स्थान रहेको बताएका थिए । नेपाली कांग्रेसका सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले बीपी कोइरालालाई नेपाली समाजले उच्च राजनीतिक चिन्तक र विश्लेषकका साथै  नेपाली भाषा–साहित्यका एक उत्कृष्ट स्रष्टाका रूपमा पनि चिन्ने गरेको बताएका थिए । 

उनले विभिन्न उतार चढाव र सङ्घर्षले भरिएको नेपालको राजनीतिक विकास क्रम अध्येताहरूका लागि चाखलाग्दो मात्र नभई स्वयंमा एउटा गहकिलो अध्ययनको विषय पनि भएको चर्चा गर्दै, राजनीतिक चिन्तन र संस्कृतिलाई समयको गतिसँगै थप परिष्कृत तथा समृद्ध बनाउँदै देश एवं जनताको अधिकतम हितमा प्रयोग गर्ने प्रणाली विकास गर्दै जानुपर्ने खाँचो रहेको उनको भनाइ रहेको थियो  । सो अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बीपी कोइराला जस्ता स्वच्छ राजनीतिक छवि भएका व्यक्तिको जीवनीबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।