लिटिल आइडलको खोजीमा प्याब्सन काठमाडौं
कपन अनलाइन
काठमाडौं, साउन ४।
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले मिस लिटिल आइडल २०२२ को खोजी सुरु गरेको छ ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने जानकारी दिए । ‘
बालिकामा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मदतपुर्याउने बताउदै अध्यक्ष राईले प्रतियोगिता साउन २८ गते सांस्कृतिक संस्थानमा हुने जानकारी दिएका छन।
यस्तै प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले प्रतियोगितामा परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने जानकारी दिएकी छन ।
कार्यक्रमका लागि प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राई (दाहाल)को संयोजकत्वमा सुर्य भण्डारी, अनिल पराजुली, कृष्ण भण्डारी र जेसिका चेम्जोङ सम्मिलित पाँच सदस्सीय कार्यक्रम संयोजन समिति गठन गरेको छ ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्राहरुलाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ ।
२०७९ साउन ७ गतेदेखी प्रशिक्षण सुरु गरी साउन २८ गते शनिबार अन्तिम प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सन् २००९ देखी वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौं संस्करण हो ।