वार्षिक लक्ष्य पूरा गर्न गाह्रो

वार्षिक लक्ष्य पूरा गर्न गाह्रो

पथरी (मोरङ), २० जेठ । विराटनगर भन्सार कार्यलयले यो वर्षको कार्तिक, मङ्सिर र वैशाख महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएकाले वार्षिक लक्ष्यमा पुग्न गाह्रो हुने जनाएको छ ।

तथ्याङ्क अनुसार कार्तिक महिनामा रु एक अर्ब ५४ करोड लक्ष्य तोकिएकोमा रु एक अर्ब २१ करोड र मङ्सिर महिनामा रु एक अर्ब ४९ करोड लक्ष्य तोकिएकोमा रु एक अर्ब २१ करोड मात्रै राजस्व असुली भएको थियो । अन्य महिनामा भने लक्ष्यअनुसार राजस्व असुली भएको कार्यालयले जनाएको छ । download (1)

कार्यालयलाई १० महिनामा रु १५ अर्ब ५८ करोड १९ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा सो अवधिमा रु १४ अर्ब ६० करोड ३८ हजार मात्र सङ्कलन गरेको छ । वैशाखमा लक्ष्यभन्दा २५ प्रतिशत कम राजस्व असुली भएको छ । वैशाखको राजस्व लक्ष्य रु एक अर्ब ६० करोड ८८ लाख ४३ हजार तोकिएकोमा रु एक अर्ब २१ करोड १६ लाख २९ हजार मात्रै असुली भएको छ ।

राजस्व असुली घटेका कारण यो वर्ष लक्ष्य पूरा गर्न गाह्रो हुने भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाको भनाई छ । भूकम्पका कारण उद्योगी व्यवसायीले आयातीत बस्तुको मात्रा घटाउँदा राजस्व असुलीमा प्रभाव परेको हो । आव २०७१÷७२ को १० महिनामा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको थियो ।

गत वर्ष १० महिनाको अवधिमा रु १३ अर्ब ३० करोड राजस्व सङ्कलनको लक्ष्य पाएको विराटनगर भन्सारले रु १३ अर्ब ४७ करोड राजस्व असुली गरेको थियो । चालु आवको १० महिनामा भन्सारले डिजेल आयातबाट सबैभन्दा बढी राजस्व असुली गरेको छ । सो अवधिमा रु ९६ हजार ५९२ लिटर डिजेल आयात भएकोमा रु एक अर्ब ३८ करोड आठ लाख ७९ हजार असुली गरेको छ ।

यस्तै स्टिल सेट क्वाइलको आयातबाट एक अर्ब १९ करोड रुपैयाँ राजस्व असुली भएको छ । यो अबधिमा पेट्रोल, मोटरसाइकल, खाना पकाउने ग्याँस, खानेतेल लगायतका बस्तुहरूको आयात उच्च छ । भूकम्पपीडितका लागि विराटनगर नाकाबाट एक लाख ३८ हजार थान त्रिपाल आयात भएको छ ।

“एक लाख थान व्यापारीक प्रयोजनका लागि र ३८ हजार थान राहत वितरणका लागि त्रिपाल आयात भएको छ” अधिकृत ढुङ्गानाले भन्नुभयो । व्यापारिक प्रयोजनका लागि ४६ वटा फार्महरूले रु नौ करोड मूल्यको त्रिपाल आयात गरेका छन् ।

यस्तै राहत वितरणका लागि भन्दै ९३ वटा सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थाले त्रिपाल, खाद्यान्नलगायतका सामग्री अनुमानित् रु आठ करोड पाँच लाख ७० हजारको आयात गरेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।