खुला महिला भलिबल आज देखि

खुला महिला भलिबल आज देखि

कपन अनलाइन

काठमाण्डौ ,असार १४।
बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि खेल्ने छन् ।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकले ५०÷५० प्रतिशत रकम व्यहोर्ने छन् । प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य मध्ये एक न्यु डायमन्डको भलिबल कोर्ट निर्माण गर्न सहयोग जुटाउनु पनि हो । नगद पुरस्कार प्राप्त गर्ने टिमले २० प्रतिशत न्यु डायमन्डलाई उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ । टिकटको शुल्क नराखिएपनि दर्शकले कोर्ट निर्माणका लागि आफ्नो इच्छा अनुसार सहयोग गर्न पाउने छन् । चारदिने प्रतियोगितका खेलहरु कीर्तिपुरस्थित कभर्डहलमा हुने छ ।

तपाइँको प्रतिक्रिया ।