चार दल बैठक ः संविधान निर्माण र सहमतिको सरकारबारे पाँच दिनभित्र टुङ्गो लगाइने

काठमाडौँ, १७ जेठ । संविधान निर्माण, राष्ट्रिय सहमतिको सरकार गठन तथा भूकम्पपीडितलाई राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गर्न आज बसेको प्रमुख चार दलको बैठकमा पाँच दिनभित्र ती विषयमा निचोडमा पुग्ने समझदारी भएको छ ।

sushil-kp-prachanda-bijaya-

पीडितलाई पुनःस्थापना र ध्वस्त संरचनाको पुनःनिर्माणलाई अगाडि बढाउन पनि सहमतिको सरकार आवश्यक भएकामा त्यसमा सबै दलको सैद्धान्तिक सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित हुनुहुन्थ्यो । बैठकमा संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको थियो । बैठकमा ती विषयमा गम्भीर वार्ता सुरु भएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पत्रकारलाई बताउनुभयो ।

“संविधान निर्माणका विषयमा सुनिश्चितता दिन सकियो भने भूकम्पले आहत भएका जनताका लागि राहत हुुन्छ, त्यसैले टुङ्गो लगाउन बाँकी राज्य पुुनःसंरचनाका विषयमा सोमबार पुनः बसेर सहमति जुटाउने कुरा भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “यही जेठ २० गतेसम्म यी विषयमा सहमतिमा पुुगिने गरी छलफललाई अगाडि बढाएका छौँ, यो विषयलाई टुङ्गोमा पु¥याएपछि पुनःस्थापना र पुनःनिर्माणका विषयमा पनि सहमति गरेर अगाडि बढ्नु आवश्यक छ” ।

बैठकमा सहभागी काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्न सहमति जुटाएपछिमात्र राष्ट्रिय सहमतिको सरकारका बारेमा अगाडि बढ्ने सहमति भएको बताउनुभयो । “संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकारका विषयमा पाँच दिनभित्र सहमतिमा पुग्ने गरी छलफललाई तीव्रता दिने सहमति भएको छ”, उहाँले भन्नुभयो ।

एमालेका उपाध्यक्ष भीम रावलले संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा छिटो निचोडमा पुग्न सबै दल सहमत भएको बताउनुभयो । “निश्चित मिति र कार्यतालिका तोकेर सहमतिको सरकार गठन र संविधान निर्माणका विषयमा टुङ्गोमा पुग्ने सम्बन्धमा सबै दल सहमत देखिएका छन्”, उहाँले भन्नुभयो ।

भूकम्पपछि राष्ट्रिय सङ्कट उत्पन्न भएका बेला बसेको संसद् बैठकबाट पारित साझा सङ्कल्प प्रस्तावको मर्मअनुसार राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने भन्दै संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल गहन छलफलमा जुटेका हुन् ।

तपाइँको प्रतिक्रिया ।