सु–भाव भाव फैलियोस् : त्रिलोचन आचार्य (कविता )

सु–भाव भाव फैलियोस् : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

जताततै छ त्रासको विनाशको कथा–व्यथा
कता गए ? सुवासिला विकासका नयाँ तथा
भन्यौँ हुने छ क्यै भनी– हिमाल यो नमैलियोस्
कुभावको कुना हटोस् सु–भाव भाव फैलियोस् ।

प्रभातदेखि छन् सधैँ अनेक घातका कुरा
विव्देष व्देष ल्याउने अनेक जातका कुरा
ग¥यौँ तथापि कामना सुपुष्प यो नवैलियोस्
सुधार नक्कली नहोस् सु–भाव भाव फैलियोस् ।

छ सुन्नु झन् यता सधैँ कुचाल चाल घातकी
दिइन्छ हैन के बुझी कुमाल मालमा मती
समाज यो भन्यौँ बनोस् अशोक, शोक नासियोस्
अभाव भाव मेटियोस् सु–भाव भाव फैलियोस् ।

म उठ्नु पर्छ यो धरा हराभरा गराउँन
लखेट्नु पर्छ दीनता बसुन्धरा रमाउँन
तसर्थ अर्थ कर्मको सफेद होस् नमैलियोस्
विभेद भेद दूर होस् सु–भाव भाव फैलियोस् ।

अहो ! हुँदैछ के यहाँ ? अकाल काल आउने,
अहो ! रुँदैछ को यहाँ ? सदैव यन्त्रणा दिने ?
अभिन्न भातृभावना हुँदैन भन्नु भासियोस् –
मिलापको मिठासले सु–भाव भाव फैलियोस् ।

गलेन यो भनौँ र के ? छ जीर्ण जीवनी लता
ढलेन यो भनौँ म के ? रुँदैछ नित्य सभ्यता
भन्यौँ भन्यौँ भनी रह्यौँ समाज यो उकासियोस्
अतृप्त चाहना पुगोस्, सु–भाव भाव फैलियोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।