राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ
जेठ १६, काठमाडौं । भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी चरेससहित पक्राउ परेका छन् । डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो ।
नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए । ‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन् ।’ राष्ट्रसंघको पासपोर्ट नम्बर ए ५६९६८५ लिएर २७ अप्रिलमा उनी नेपाल आएका थिए ।
उनी डब्लुएफपीको मुख्य कार्यालयबाट राहत सामग्री लिएर आएका थिए । फर्कने क्रममा चरेस लिएर जान खोज्दा उनी पक्राउ परेका हुन् । थोरै मात्रामा बरामद भएकाले तस्करीभन्दा सेवनको उद्देश्यले उनले चरेस बोकेको हुनसक्ने प्रहरीले जनाएको छ । विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट ब्युरोका इन्स्पेक्टर प्रेम शाहीले एलमाहीलाई पक्राउ गरेका थिए । जिन्स पाइन्टको दायाँतर्फको सानो खल्तीमा पोको पारेर उनले चरेस राखेका थिए । उनलाई थुनामा राखी कारबाही अघि बढाइएको छ ।
एलमाही काठमाडौंबाट तान्जानियाको राजधानी दारेसला जाँदै थिए । १४ वर्षदेखि उनी डब्लुएफपीमा काम गर्दै आएका छन् । उनका बुबा सोमालियन र आमा जर्मन हुन् । जर्मनीमै जन्मिएकाले उनले जर्मनीको नागरिकता पाएका थिए । नयपत्रिका