विजयी क्रम : कृष्ण शाह “यात्री” (लघु कथा )

विजयी क्रम : कृष्ण शाह “यात्री” (लघु कथा )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४ ।

पहिलो पटकको चुनावमा मैले जनताको घरदैलोमा गएर आफ्नो राजनीतिक व्यथाहरू सुनाएर, थुप्रै आश्वासन बाँडेर भोट मागेँ र विजयी पनि भएँ । सांसद् पश्चात मन्त्री बन्ने सौभाग्य पनि पाएँ । यो अवसरको सदुपयोग गर्दै राजधानीमा सानो चारतले घर र अलिकति जग्गाजमिन जोड्दा जोड्दै जनतालाई दिएको आश्वासन नै बिर्सिएँ ।
दोस्रो पटकको चुनावमा जनतालाई पैसा बाँडेर, भोज खुवाएर, रक्सीको खोलो बगाएर चुनाव जिते । पाँचवर्षको अवधिमा मैले दशथरी मन्त्री बन्ने सु–अवसर पाएँ । तर अतिव्यस्तता, विदेश भ्रमण र सातपुस्ते सम्पति जोड्दा पदावधि सकिएको पत्तो नै भएन ।
तेस्रो पटकको चुनावमा मैले आफ्नो शक्तिप्रयोग गरेको छु । मसँग गुण्डागर्दी गर्ने कुख्यातहरू हजारौँको सङ्ख्यामा छन् । भित्री र बाहिरी बल प्रयोग गरेकै भरमा सजिलै चुनाव जित्ने कुरामा म विश्वस्त थिएँ तर पनि म निर्विरोध विजयी भएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।