विद्यार्थी सम्हाल्न शिक्षक तयार

विद्यार्थी सम्हाल्न शिक्षक तयार

प्रकाश सिलवाल

काठमाडौँ, १५ जेठ । भूकम्पका परकम्पनका बीच विद्यार्थी सम्हालेर विद्यालयमा क्रमशः घुलमिल गराउन शिक्षक तयार देखिएका छन् । विद्यालयमा रहेका समयमा भूकम्प आएमा वा शिक्षक नै पहिला भागेमा के गर्ने भन्ने कतिपय अभिभावकमा प्रश्न देखिएपनि शिक्षकले त्यस्तो अवस्थाका लागि आफूलाई तयार गरेको जनाएका छन् ।

सरकारले यही १७ जेठदेखि भूकम्प प्रभावित जिल्लामा पनि विद्यालय सञ्चालनको निर्णय गरेदेखि नै शिक्षक र विद्यालय सञ्चालक त्यसको तयारीमा जुटेका थिए । सामुदायिक र निजी विद्यालयमा साझा संस्था नेपाल शिक्षक महासङ्घले गत जेठ १ गते नै विद्यालय खोल्नका लागि पनि तयारी गरेको थियो । ddd

महासङ्घले प्रभावित जिल्लाका ११ सय प्रधानाध्यापकलाई मनोसामाजिक परामर्श दिइसकेको थियो । २९ वैशाखमा अर्काे शक्तिशाली भूकम्प गएपछि शिक्षा मन्त्रालयले जेठ १५ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको थियो । यसबीचमा भूकम्प सङ्कटग्रस्त घोषित १४ जिल्लाका कतिपय क्षति नभोगेका विद्यालय र निजी कलेज र उच्च मावि खुलिसकेका छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले भन्नुभयो, “अभिभावकले चिन्ता गर्नु पर्दैन, हामी हाम्रो दायित्व निर्वाह गर्न तयार छाँै । सुरुकै दिनमा पढाइ नहोला तर शिक्षक र विद्यार्थीबीच घुलमिल गराउन ढिलाई गर्नु हुँदैन ।” नयाँ शैक्षिक सत्र हरेक वर्ष वैशाख पहिलो साताबाट प्रारम्भ हुने गरेकामा विनाशकारी भूकम्पका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि प्रभावित बनेको थियो ।

विद्यालय सञ्चालन नभएसम्म जनजीवन पूर्ण सामान्य भएको सन्देश नजाने भएकाले पनि शिक्षा मन्त्रालय, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक र शिक्षा सरोकारवाला संस्थाले सुरक्षाको सुनिश्चिततासँगै विद्यालय चाँडो खोल्न जोड दिँदै आएका छन् । १४ जिल्लामा मानवीय र भौतिक क्षति भएको तथा विद्यालय भवन पनि भत्केकाले बालबालिकालाई सामान्यीकरण गर्न मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले पनि मनोसामाजिक प्रशिक्षण सामग्री वितरण गरेको थियो ।

मन्त्रालयका अनुसार कूल ४९ जिल्लामा गरी भूकम्पका कारण छ हजार ९०२ विद्यालय र १६ हजार ४७५ कक्षाकोठा पूर्णतः प्रभावित भएका छन् भने ३८० विद्यार्थी र ६४ शिक्षकको निधन भएको छ ।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले आमरुपमा जेठ १७ गतेदेखि सबै विद्यालय सञ्चालनमा ल्याउन सूचना जारी गरिएको जनाउँदै अस्थायी सिकाइ केन्द्र निर्माण भइनसकेकामा वा अन्य कारणले केही दिन कुरेर विद्यालय खोल्नुपर्ने अवस्था आएमा सम्बन्धित जिल्ला शिक्षा कार्यालय र विद्यालयले निर्णय गर्न सक्ने जानकारी दिनुभयो ।

नेपालले भन्नुभयो, “कठिनाइका बीच विद्यालय खोल्न शिक्षकले देखाएको उत्साह प्रशंसनीय छ । यसमा अभिभावक र विद्यार्थीको पनि सहयोग आवश्यक छ ।”

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले तत्काल पढाउने भन्दा पनि घुलमिलका लागि विद्यालय खोल्नुपर्नेमा जोड दिँदै निजी विद्यालयले बिदाको अवधिको पूरा शुल्क मिनाह नगरेपनि छात्रावास र यातायात शुल्क मिनाहा गरी भूकम्पपीडित विद्यार्थीलाई पूर्णनिःशुल्क गरिदिन माग गरिएको बताउनुभयो ।

दुई सत्रमा भएपनि पढाइने

काठमाडौँ उपत्यकाका क्षति भोगेका निजी विद्यालयले अस्थायी सिकाइस्थलमा सबै विद्यार्थी नअट्ने भएकाले दुई सत्रमा भएपनि विद्यालय सञ्चालनको तयारी गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारले आफ्ना विद्यालयका भवनको प्राविधिक परीक्षणमा ढिलाइ गरेर समस्या उत्पन्न गराएको गुनासो गर्दै त्यसका बाबजुद पनि जेठ १७ गतेदेखि विद्यालय खोल्ने तयारी गरिएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।