टेबलटेनिसलाई बधाइ र स्वागत

टेबलटेनिसलाई बधाइ र स्वागत

कपन अनलाइन
काठमाडौं, जेठ ३  ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार स्वागत गर्नुका साथै बधाइ दिएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलाडीले आफ्नो कमजोरीलाई सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ गर्विलो उपलब्धी हासिल गर्न अझ मिहिनेत गर्नु पर्नेमा जोड दिए ।
माल्दिभ्सको मालेमा बैशाख २६ देखि २८ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो । नेपालबाट ४ पुरुष र ३ महिला गरी ७ खेलाडी सहभागी थिए । सबै पदक जित्न सफल भए ।
क्याडेट गल्र्स टिम इभेन्टमा इभाना थापा मगर, वियांका राई र शुभश्री श्रेष्ठले नेपाललाई रजत दिलाए । नेपालसहित ६ राष्ट्र सहभागी उक्त स्पर्धाको सेमिफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्दै भारतसंग स्वर्ण भिडन्त पक्का गरेको थियो । फाइनलमा भने भारत विजयी भयो ।
जुनियर ब्वाइज टिममा संयोग कपाली, रुविन महर्जन र प्रिन्स थापाले कांस्य जिते । क्याडेट ब्वाइज डबल्समा प्रिन्स थापा र उज्ज्वल मानन्धरको जोडीले कांस्य चुमे । राउन्ड रोविन लिगका आधारमा भएको दुवै स्पर्धामा नेपालसहित ५ राष्ट्रले भाग लिएका थिए । प्रिन्स बुटवलमा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।
टोलीको नेतृत्व अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले गरे थिए भने व्यवस्थापमा टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा प्रशिक्षकमा शंकर गौतम र मोहनदास बासुकला रहेका   छन् । कम्पिटिसन म्यानेजरमा तेजेन्द्रसिंह महरा थिए । टोली बैशाख २९ गते स्वदेश फर्किएको हो ।

तपाइँको प्रतिक्रिया ।