नेता होइन जनताको सेवक हुँ, बोलेका कुरा पूरा गर्छु : डोर प्रसाद आचार्य

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

जनताको चाहना बुझ्न र मत समेत माग्न घरदैलो कार्यक्रम गर्दै गर्दा मैले धेरै कुराहरु थाहा पाएँ । यस अघि कहिल्यै पनि यसरी वडा नं १० का वडावासीहरुसँग घरघरमै गएर साक्षात्कार भएको थिएन । यस पटकको यो भेटघाट्मा मैले जनताको चाहना, सुझाव, गुनासो लगायत धेरै कुराहरु थाहा पाएँ । हाम्रो वडाको धेरै कुराहरु थाहा पाएँ ।

अहिले पनि हाम्रो घरदैलो कार्यक्रम जारी छ । यो कार्यक्रम मेरो लागि अपूर्व विजयको कार्यक्रम हो । भविष्यमा मेरो भूमिका के हुन्छ थाहा छैन तर वडावासीको चाहनाहरु पूरा गर्न भने म पहरेदार बनेर अहोरात्र लागी पर्नेछु । यो मेरो प्रतिज्ञा हो ।
वडावासीलाई मत माग्दै गर्दा धेरैको जिज्ञासा एउटै पाएँ । उनीहरुले भने– “५ वर्ष अघि पनि यसरी मत माग्न आए । युवा हुँ काम गर्छु भन्दै काम गर्ने प्रतिज्ञा पनि गरे । हामीले विश्वास गर्यौँ र मत दियौँ । तर बोलेको काम भएन । हामीलाई धोका भयो । अरु कुरा त छाडौँ सरसफाइ समेत भएको छैन । जताततै फोहोरै फोहोर छ । सफा वडा भए कति राम्रो हुथ्यो । आरामले हिड्न पाइन्थ्यो । फुटपाथ  मिचिएको छ । मान्छे हिड्ने ठाउँ छैन । अघिल्लो पटक यि सबै काम गर्ने वाचा गरेका थिए तर काम भएन । ठूला कुरा नगर्नुहोस् । काम ठूला गर्नुहोस् । सरसफाइ, खानेपानी, हरियाली आदि जस्ता सामन्य तर असाध्यै महत्वपूर्ण कुराहरु पुरा गर्नुहोस् । बाँकी आफैँ बन्छ । नबोल्नुहोस् । बोलेपछि पुरा गर्नुहोस् । अघिल्लो चुनावमा बोलेका कुरा जितेकाले पुरा गरेनन् । अब यस्तो नहोस् ।”
वडाभरी नै यस्ता कुराहरु थुप्रै सुनियो । जनताको खास चाहना भनेको सरसफाइ, हरियाली, खानेपानी, फुटपात व्यवस्थापन जस्ता कुराहरुमा रहेछ । हुन पनि यस्ता कुराहरु त अवश्य व्यवस्थापन गर्नुपर्छ । २०६८ को जनगणना अनुसार कुल ३६०७८ जनसंख्या रहेको हाम्रो वडामा हाल ४२४१ घरधुरी छन् । महिलाको जनसंख्या १८३१६ र पुरुषको जनसंख्या १७७६२ रहेको छ । घरदैलो कार्यक्रममा हामीहरु लगभग सबै घरधुरीमा पुगी सकेका छौँ ।
अध्ययन, अनुसन्धान तथा विकास निर्माणको अवस्था हेर्न मैले आफ्नो वडाको विभिन्न प्रकारका विवरणहरु संकलन गर्ने प्रयास गरेँ । जस्तो बालबालीकाको जनसंख्या, अपांगा भएका बालबालीका तथा युवा, वेरोजगार युवा, वडा भरी पिच भएका साना तथा ठूला सडकको लम्बाई, पिज हुन बाँकी सडक, विभिन्न कारणले टुटफुट भएका सडक, खानेपानी आदि विविध सम्बन्धि  यथेष्ट विवरण वडाकार्यलमा रहेन छ । मैले सोधखोज गरेँ केही पाइन । अवस्था लथालिंग रहेछ ।

यो थाहा पाए पछि म चकित परेँ । कुनै वैज्ञानिक विवरण विना हाम्रो वडामा विकासका कामहरु कस्तो र कसरी चल्यो होला ? वडाको वास्तविक आवश्यकता कसरी पहिचान गर्ने ? समस्याहरु कसरी समाधान गर्ने ? यो त कागज विना सुन्दर भवनको नक्सा बनाउँछु भने झैँ भयो नि, होइन र ? नेतृत्वसँग कम्तिमा आवश्यक सबै विवरणहरु प्रामाणिक तथा व्यवस्थ्ति रुपमा हुनुपर्ने हो तर छैन । विवरण विना कसरी विकास निर्माणको कार्य गर्ने ? कहाँबाट काम थाल्ने ? कसरी कुनै निर्णय लिने ? कसरी जनताको माग पुरा गर्ने ? गहिरिएर आफ्नो वडाको अवस्था हेर्दा वास्तवमा विगतमा जनताको मतको कदर भएन । नेतृत्वले आफु बन्ने मात्र काम गरेको तथ्यले देखाउँछ ।
यसलाई हेर्दा वडावासीहरुले गरेको गुनासो जायज रहेछ जस्तो लाग्यो । गएको ५ वर्ष केवल वाचा भए तर कार्यन्वयन भएनन् । यसले वडावासीहलाई निश्चित रुपमा खिन्न बनाएको रहेछ ।

मैले यसलाई गहिरो गरि आत्मसाथ गरेको छु । म नेतृत्वमा आउन साथ शुरुमा सरसफाईबाट काम थाल्छु । आवश्यक सबै विवरणहरु वैज्ञानिक रुपमा व्यवस्थापन गर्छु । कुनै पनि योजना बनाउँदा हातमा वैज्ञानिक विवरण बोकेर, सबैलाई देखाएर मात्र योजना बनाउने र काम गर्ने गर्छु । ५ वर्ष भित्रमा व्यस्थीत वडा निर्माण गर्छु ।
घरदैलोको क्रममा मैले सबैसँग त कुरा गर्न पाइन तर सबैको घरमा पाइला टेकेको छु । बोलेको छु । प्रतिज्ञा गरेको छु । म अवश्य त्यसलाई पुरा गर्छु । म शिक्षक हुँ । एक अनुसन्धानकर्ता हुँ । हामीहरु प्रमाणिक तथ्यमा उभिएर बोल्छौँ । हावादारी गफ हामी गर्दैनौँ । यतिका वर्ष विद्यार्थीहरुको उज्जवल भविष्यको नक्सा कोरेर हिडेको मान्छे अहिले आफ्नो वडा, आफ्नो देशको सन्दर्भमा काम गर्दा कुनै कन्चुसाई गर्दिन । मेरो लक्ष्य आफ्नो वडालाई नमूना वडा बनाएर देशैभरीको ६७४३ वडाहरु मध्ये उत्कृष्ट वडा बन्ने हो । अरुलाई पनि प्रेरणा दिने हो ।
गएको ५ वर्षबाट पाठ सिक्दै जनताले पक्कै पनि अर्काे गल्ती गर्नुहुँदैन । गर्दैनन् । नेताले जीत्ने र जनताले हार्ने चुनाव हुनुहुन्न । जनताको जीत हुनुपर्छ । त्यसकारण यसपटक हामी सबैले योग्य उम्मेदवारलाई मतदान गरी विकासको यात्रामा सरिक हुनुहुन्छ ।

( माथि उल्लेखित विचारहरु नेपाली कांग्रेसका तर्फबाट वडा नं १० को वडा अध्यक्ष उम्मेदवार डोर प्रसाद आचार्यका निजि हुन् )

तपाइँको प्रतिक्रिया ।