आकर्षक स्वदेशी तथा विदेसी जागिर छोडेर बुढानिलकण्ठ-८ को मैदानमा राजाराम थापा

आकर्षक स्वदेशी तथा विदेसी जागिर छोडेर बुढानिलकण्ठ-८ को मैदानमा राजाराम थापा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका तर्फ बाट चुनावी मैदानमा उत्रिएका राजाराम थापाले आकर्षक स्वदेशी तथा विदेसी जागिर छोडेर वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन।

अस्ट्रेलियाबाट एमबिए गरेर बहु रास्ट्रिय कम्पनीमा लाखौ तलव खाएर लामो समय सेवा गरेका थापा वडा नं ८ को विकास र समृद्धिका लागि भन्दै निर्वाचनको मैदानमा आएका हुन्।

१३ औ महाधिवेसनबाट वडा नं ८ इकाई समितिको उपसभापति हुदै १४ औ महाधिवेसनमा इकाई सभापति बनेका थापा लामो समय देखि सामाजिक गतिविधिमा पनि सकिय रहेका छन।

के के छन  वडा नं ८ मा थापाका  एजेण्डाहरु?

फोहोर व्यवस्थापनदेखि सार्वजनिक सम्पत्तिको संरक्षणसम्म काठमाडौं । हात्तिगौडा, भंगाल, सुन्दरबस्ती, मण्डिखाटार, रुद्रमति र गोल्फुटारको बीचमा एउटा बाक्लो बस्ती छ । जुन २०७२ सालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारमध्ये बुढानीलकण्ठ नगरपालिकाको ८ नं वडा क्षेत्रभित्र पर्छ ।

त्यही क्षेत्र हो जहाँका स्थानीय आफ्नै सरकारको गलत नीतिका कारण सधैंभरि खानेपानीको समस्यासँग जुधिरहेका छन् । २०७४ सालको निर्वाचनमा दलहरुले स्मार्ट सिटी बनाउने र अनेक सुविधा दिने चुनावी प्रतिबद्धता देखाए । त्यही लोभमा जनताले उनीहरुलाई नै मत त दिए । तर स्मार्ट सिटी कागजमै सीमित भयो । बरु यो समयमा प्राकृतिक स्रोतको चरम दोहन भयो, भएका खोलानाला सुके, पानीका मुहानलाई प्लटिङले खाइदियो ।

खहरेहरुमाथि घर बनाउने अनुमति दिइयो । साथमा अव्यवस्थित रुपमा जग्गाको कित्ताकाटको अनुमति दिँदा त्यो क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । नेपाली काँग्रेसका नेता राजाराम थापाले यसपालि यही वडाबाट वडाध्यक्षको उम्मेदवारी दिएका छन् । उनी अघिल्लो चुनावमा उम्मेदवारले दिएको जस्तो उडन्ते योजना सुनाउन डराउँछन् । ‘राजनीतिमा इमान भन्ने पनि चिज हुन्छ । मैले आज बोलेको कुरा भोलि पूरा भएन भने मैले के गर्ने त्यसैले पूरा नहुने प्रतिबद्धता जनाउनु हुँदैन ’ उनी भन्छन् ।

तर आफूले चुनाव जितेको खण्डमा अहिलेको कार्यकालमा जस्तो नगरलाई अस्तव्यस्त बनाउने काम भने नगर्ने प्रतिबद्धता जनाउँछन् । झण्डै २ वर्ष अघि सांसद विकास कोष र अन्य विभिन्न स्रोतबाट सहयोग जुटाएर नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभामा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका गगन थापाले नगरपालिकाको सोही वडामा एउटा सुविधासम्पन्न नगर अस्पताल बनाउने योजना बनाए ।

सयौं रोपनी सार्वजनिक जग्गा भएको त्यो क्षेत्रमा अस्पताल बनाउन सकेको भए त्यहाँका बालबालिका एवं वृद्धवृद्धालाई प्रत्यक्ष लाभ त हुन्थ्यो नै । त्यहाँका युवाहरुमा पनि रोजगारीको अवसर मिल्न सक्थ्यो । अस्पताल सांसद थापाको योजना अनुसार बन्दै थियो र त्यसमा स्रोत पनि उनले नै खोजेका थिए । तर, त्यहाँ स्थानीय सरकार प्रतिपक्षी दलको हुन पुग्दा ८ नं मा नगर अस्पताल बन्न सकेन ।

डीपीसी गरिसकेको भवनमाथि पनि कुलो पस्यो । त्यो पनि भत्कियो । पछि अस्पतालको योजना नगरपालिकाकै १० नं वडामा पुग्यो । एकातिर आधारभूत सुविधा समेत पाउन मुस्किल रहेको स्वास्थ्य चौकीको सुधारमा वडाले चासो दिएन भने अर्काेतिर आउन लागेको अस्पताललाई पनि सहजीकरण नगर्दा एउटा सुविधासम्पन्न अस्पताल ८ नं वडावासीले गुमाउनु पर्यो  ।

त्यसैले यो चुनावमा जनताले यी सबैको हिसाबकिताब गर्छन् भन्नेमा ढुक्क छन्, थापा । राजनीतिक हिसाबले हेर्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारसँग ३८२ मतले हारेका थिए । झण्डै ४ हजार मतदाता रहेको यो वडामा पछिल्लो पाँच वर्षमा भएका गतिविधिलाई हेर्ने हो भने राम्रोभन्दा नराम्रा कामहरु धेरै भएको थापाको आरोप छ ।

‘यो पाँच वर्षमा आधारभूत आवश्यकता र पूर्वाधारको क्षेत्रमा के भयो त ? भन्ने प्रश्न जनताले पुरानै पार्टीलाई भोट दिने बेलामा पक्कै पनि सोच्नेछन् भन्ने मलाई विश्वास छ ।’ उनी भन्छन् । फोहोरमा व्यापार, रमिते वडा सामान्यतया मान्छेले सरकारलाई कर तिर्नुको उपादेयता नै यातायात, खानेपानी, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन आदिमा सरकारले सहजीकरण गर्छ भनेर हो ।

तर यहाँको अवस्था अलिक फरक छ । यहाँका बासिन्दाले महँगोमा निजी कम्पनीलाई फोहोरको पैसा तिरे पनि समयमा त्यसको सुविधा पाउँदैनन् । वडाले तिनै निजी कम्पनीको जिम्मा लगाएर आफू हाइसन्चो मानेर बसेको स्थानीयको आरोप छ । पाँच वर्षसम्म नगरपालिकाको नेतृत्वमा बसेकासँग थापा प्रश्न गर्छन् ‘४०० रुपैयाँदेखि १२०० रुपैयासम्म असुली गरेर निजी क्षेत्रले फोहोर उठाउँछ भने यहाँको नागरिकलाई सरकार किन चाहियो ?’ त्यसैले अहिलेका वडा र नगरपालिका नेतृत्वले फोहोर मैलाको व्यवस्थापनमा देखाएको शैलीलाई आफूले चुनाव जितेको खण्डमा अन्त्य गर्दै वडाले नै निःशुल्क फोहोर संकलन र व्यवस्थापनको जिम्मा लिने प्रतिबद्धता उनले व्यक्त गरे ।

अहिले फोहोर संकलन गर्न आउनेले घरको तलाको आधारमा ४०० देखि १२०० रुपैयाँ असुल गर्ने गरेका छन् । त्यो पनि हप्ताको २ दिन मात्रै फोहोर उठ्ने गरेको उनी सुनाउँछन् । थापा भन्छन् ‘हामीले चुनाव जित्यौं भने त्यसरी रमिते बस्दैनौं । फोहोर व्यवस्थापन व्यक्तिको नभएर सरकारको दायित्व हो भन्ने सोच उनको छ । पार्टीले पानी खुवायो, सरकारको बेवास्ता अन्य वडाको जस्तै ८ नं वडाको पनि मुख्य समस्या खानेपानीको हो । मण्डिखाटार, गोल्फुटार जस्ता भेगहरुमा मेलम्ची खानेपानी आयोजनाले सर्भे गरेर गएको छ भने माथिल्लो भेगमा त सर्भे पनि सकिएको छैन । सर्भे गरिसकेकोले छिट्टै ती क्षेत्रका बासिन्दाले पानी पिउन पाउने विश्वास गर्छन् थापा ।

अहिले यो वडावासीलाई पानी खुवाउनको लागि सोही वडामा २ वटा बोरिङ खनिएको छ । त्यो आफूहरुको पहलमा सांसद विकास कोषबाट खनिएको उनी सुनाउँछन् । मण्डिखाटार भेगमा मेलम्चीको पानी आयो भने त्यो बोरिङलाई माथिल्लो भेगवासीलाई वितरण गर्न सकिने उनी सुनाउँछन् । ‘पछिल्लो ५ वर्ष नेकपा एमालेले सत्ता चलायो । तर ८ नं वडावासीको मुख्य समस्याको रुपमा रहेको खानेपानी भने हाम्रो पहलमा खुवायौं ।’ उनी भन्छन् ‘यति हुँदा जननिर्वाचित नेतृत्वको वडा भने मुकदर्शक रह्यो ।’

थापा खानेपानीको सुविधा आफ्नो मुख्य एजेण्डामा रहेको भन्दै नगरपालिकाको स्रोतले धानेन भने बाह्य स्रोतबाट बजेट खोजेर पनि यी समस्या समाधानमा काम गर्ने सुनाउँछन् ।

सडकबत्तिदेखि सार्वजनिक सम्पत्ति संरक्षणसम्म ८ नं वडाभित्र अझैपनि सयौं रोपनी जग्गा संरक्षणको अभावमा त्यसै अस्तव्यस्त छ । यी सार्वजनिक सम्पत्तिलाई समयमै तारबार गर्न सकेन भने यो बिस्तारै अतिक्रमणमा पर्ने निश्चित छ । त्यसैले आफूले चुनाव जितेको खण्डमा यी सार्वजनिक सम्पत्तिलाई सुरुमा तारबार गर्ने र त्यसपछि पार्क निर्माण वा वृक्षारोपण गरेर त्यसको संरक्षण गर्ने एजेण्डा बोकेको थापा बताउँछन् ।

‘अहिले फुस्रे पाखा लगायत ठाउँमा सार्वजनिक सम्पत्ति एनजिओलाई कुनै प्रतिस्पर्धाविना नै भाडामा दिइएको छ, हामीले त्यसको विरोध गर्दा चुनाव जितेर आएर हटाउने चुनौती दिन्छन्’ थापा भन्छन् ‘सार्वजनिक सम्पत्ति कसैले विनाप्रतिस्पर्धा निजी कम्पनी वा संस्थालाई दिन मिल्दैन । यसमा स्वास्र्थ जोडिएको छ । यस्ता सम्पत्तिको संरक्षण पनि हाम्रो मुख्य एजेण्डा हो ।’ ‘वडासँग अहिलेसम्म एउटा एम्बुलेन्स छैन ।

आगलागी हुँदा आगो निभाउने दमकल छैन । यी अत्यावश्यक सेवा पनि त वडाले नै दिनुपर्ने होइन र ?’ उनी प्रश्न गर्छन् । थापा यो कार्यकालमा धेरैतिर बाटो बनेपनि सडकबत्ति, सीसीटीभी जस्ता आधारभूत प्रविधि जडानको काम हुन नसकेको भन्दै आफूले चुनाव जितेको खण्डमा त्यसलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने बताउँछन् । शहरलाई जुनसुकैबेला हिँडडुल गर्न सक्ने बनाउनको लागि सडक बत्ति र सीसीटीभी अपरिहार्य भइसकेको भन्दै उनी आफूले चुनाव जितेको दण्डमा पैसालाई बाटोघाटोमा मात्रै नखन्याउने प्रतिबद्धता व्यक्त गर्छन् । यो कार्यकालमा प्रतिपक्षीसँग कुनै छलफल र संवाद नभएको उनको गुनासो छ ।

तर विकासको लागि सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन नहुने भन्दै यदि आफूले चुनाव जितेको खण्डमा आफूले गरेको विकासे काममा अनुगमन गर्ने समितिको जिम्मा नै विपक्षी दललाई दिने एजेण्डा आफ्नो रहेको उनी बताउँछन् ।

यसबाहेक शिक्षा क्षेत्रमा सुधार्नु पर्ने धेरै कुराहरु छन् । २ वटा सामुदायिक र १० वटा निजी विद्यालय भएको वडामा सामुदायिक विद्यालयको गुणस्तर त्यति चित्तबुझ्दो छैन ।

त्यसलाई सुधार गर्ने, महांकाल मन्दिर, लोकेश्वर महादेव र जगन्नाथ मन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटक आकर्षित गर्ने जस्ता विकासे एजेण्डाहरु आफूसँग रहेको थापा सुनाउँछन् । ज्येष्ठनागरिकको लागि पार्क निर्माण, युवाहरुको लागि खेलकुद मैदान आदिको निर्माणमा सत्ता बाहिर हुँदा समेत अग्रसरता बनेको भन्दै वडाको नेतृत्वमा पुग्न सकेको खण्डमा यसलाई झनै व्यवस्थित बनाएर अघि बढाउन सकिनेमा जोड दिन्छन् ।

तपाइँको प्रतिक्रिया ।