नेताले होइन जनताले जित्नुपर्छ : डोरप्रसाद आचार्य

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

चुनाव लोकतन्त्रको धड्कन हो । लोकतन्त्र स्थायित्व एवम् समृद्धिको राजमार्ग हो । काङ्ग्रेस लोकतन्त्रको पहरेदार हो । काङ्ग्रेसको नेतृत्वमा यतिखेर देश स्थानीय तहको चुनावमा होमिँदै छ । लोकतन्त्रलाई अझ संस्थागत गर्दै देशलाई समृद्धिको शिखरमा पु¥याउन काङ्ग्रेसले देशैभरि अभूतपूर्व उपस्थिति जनाइरहेको छ ।
धेरैजसो मानिसहरु चुनावलाई नेताको हारजितको अंकगणितसँग जोडेर हेर्छन् तर मेरो विचारमा वास्तवमा हरेक चुनाव अमुख नेताको होइन, जनताको हार र जितको फैसला हो ।

यदि असक्षम व्यक्ति नेतृत्वमा पुग्यो भने जनताले हार्नुपर्ने हुन्छ । समृद्धिको गति मन्द हुन्छ । सक्षम र असल नेताले जिते भने मात्र जनताको जित हुन्छ किनकि उसले जनतालाई केन्द्रमा राखेर काम गर्छ । समृद्धि गतिवान हुन्छ । त्यसैले जनताको जितका लागि चुनावमार्फत् हामीले एक असल र अब्बल प्रतिनिधि छान्नुपर्ने हुन्छ ।
यसलाई गहिरोसँग बुझ्दै हरेक मतदाताले नेताको होइन आफ्नो जितको फैसला आफैँले गर्नुपर्ने हुन्छ । हरेक मतदाताले अमुख पार्टीप्रतिको आस्थाको भावनामा बगेर होइन समझको धरातलमा उभिएर मतदान गर्नुपर्दछ ।
बुढानीलकण्ठ वडा नं. १० का जनताले आफूलाई जिताउने प्रतिनिधि छान्न सुझबुझ देखाउन जरुरी छ । हाम्रो ५ वर्ष समय खेर गयो भने आउँदो पुस्ताले निश्चितरूपमा हामीलाई प्रश्नचिह्न उठाउने छन् । बेलैमा सचेत भएर मतदान गर्न जरुरी छ ।
हाम्रो यस क्षेत्रमा थुप्रै खाले समस्याहरु छन् ।

मुख्यरूपमा हिउँदमा सडकहरु धुलाम्मे र र वर्षामा हिलाम्मे हुन्छन् । ढलको उचित व्यवस्थापन हुन सकेको छैन । सरसफाइको अवस्था पनि उस्तै छ । सभ्य तथा शान्त समाजको निर्माण हुन सकेको छैन । किशोरकिशोरीहरु कुलतमा फसिररहेका छन् । गुणस्तरीय शिक्षा तथा चुस्त सेवा जनताले पाइरहेका छैनन् ।

धरातलीय यथार्थमा उभिएर हेर्ने हो भने गएको चुनावमा नेताले त जिते तर जनताले हारे । नेताको जीवन बदलियो होला तर जनताको जीवन जस्ताको तस्तै छ । यहाँको भुगोलको विकास पनि उस्तै मन्द गतिमा छ । गएको ५ वर्षमा प्रयास गरेको भए धेरै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुन सक्थ्यो तर त्यसो हुन सकेन ।

हामीलाई अहिले ठूला–ठूला काम होइन सरसफाइ, सभ्य समाज, सुरक्षित महिला तथा बालबालिका, सुलभ स्वास्थ्योपचार जस्ता सानातिना कार्यमात्र गरे पुग्छ । गएको पाँच वर्षमा महसुस गर्ने गरी ती कुनै पनि क्षेत्रमा काम हुन सकेन ।

यसले आमवडावासीले गहिरो गरी बुझ्नु जरुरी छ । सरसफाइ जस्तो अत्यन्तै महत्वपूर्ण तथा सामान्य काम पनि हुन सकेन भन्दै रोष प्रकट गर्ने अनगिन्ती नगरवासी मैले स्वयम् भेटको छु । यो सत्य हो ।
पुनः हामीलाई अर्काे ५ वर्षका लागि स्थानीय सरकार निर्माण गर्ने महत्वपूर्ण अवसर आउँदैछ । यसपटक हरेक मतदाताले सुझबुझका साथ मतदान गर्नुपर्छ । आफू जित्ने प्रतिनिधिलाई मात्र जिताउनुपर्छ । मतदान दिन आउँदै गर्दा सडक हेर्नुपर्छ । सरसफाइ हेर्नुपर्छ अनि मात्र मतदान गर्नुपर्छ ।
म पनि यसपटक वडावासी एवम् साथीहरुको हौसला र न्यानो साथका कारण वडा नं. १० को नेतृत्व लिन मैदानमा खडा भएको छु । हरेक संकटका बेला देशलाई दिशानिर्देश गर्ने, देशको पुरानो एवम् प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले मलाई जनतालाई जिताउन मैदानमा पठाएको छ ।

पार्टीको एउटा सच्चा पहरेदार भएको नाताले मैले पनि पार्टीको निर्देशनलाई पालना गर्दै तपाईँहरुसमक्ष आएको छु ।
मेरो उम्मेद्वारीको पछाडि केही महत्वपूर्ण उद्देश्यहरु एवम् योजनाहरु छन् ।

तर, म सानो–सानो कामबाट आफ्नो यात्रा सुरु गर्छु । हरेक दिन नाक थुनेर हिँड्दै गर्दा मैले जस्तै सबैले भोगेको फोहोरको पीडालाई म सुरुमै समाप्त पार्छु । पहिला हाम्रो भुगोललाई सफा गरी मुस्कुराउँदै हिँड्न सक्ने बनाउँछु ।

त्यसपछि मानसिक फोहोरहरुलाई सफा गरी सभ्य एवम् शान्त समाज निर्माणमा लाग्छु । म चाहन्छु हरेक साँझ, बिहान, बेलुका हाम्रा बालबालिका तथा महिलाहरु निर्धक्क हिँड्न सकून् ।

त्यसपछि शिक्षा, स्वास्थ्य, विकास निर्माण, युवा स्वरोजगार जस्ता कार्यहरु क्रमशः गर्दै जनतालाई उसैको मतले विजयी बनाउने मेरो सपना छ । मैले यो ५ वर्ष कसरी र के–के काम गर्ने भनेर समयतालिकासहितको योजना हातमा बोकेर तपाईँहरुसमक्ष आइरहेको छु ।
मेरो व्यक्तिगत लाभ र उन्नतिको अब मलाई कुनै लोभ छैन । दुरदराज गाउँमा जन्मेर पनि कडा संघर्षमार्फत् मैले एक आमनेपालीले पाउने सबै सुविधाहरु प्राप्त गरेँ । अब मलाई केहीको वा कसैको कुनै पनि लोभमा परेर थप सुविधाहरु प्राप्त गर्नुपर्ने अवस्था छैन । अब जति बाँच्छु हर पल सबैको सेवा गरेर जीवन बिताउँछु ।

मैले सेवाभन्दा ठूलो अर्काे धर्म देखेको छैन । विगतमा विद्यालयदेखि क्याम्पससम्मका हजारौँ विद्यार्थीहरुसँग लामो समय विताएँ । थुप्रै प्रकारका समस्याहरुलाई समाधान गरी अघि बढेँ । सफलता र विफलताका कैयौँ महत्वपूर्ण अनुभव प्राप्त गरेको छु । आज तिनै गहकिलो पृष्ठभूमिमा उभिएर राजनीतिको नौकामा सवार भई थप सेवा गर्न चाहन्छु । आशा छ जनतालाई जिताउने मेरो महाअभियानले चाँडै साकार रूप पाउनेछ । जय नेपाल ।

( लेखक आचार्य नेपाली कांग्रेसका तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० का  अध्यक्ष उम्मेदवार हुन् )

तपाइँको प्रतिक्रिया ।