टोखामा नगरपालिकामा गठबन्धन प्रभाव : नेकपा एमालेलाई बर्चस्व जोगाउन कठिन
कपन अनलाइन
काठमाडौँ,चैत्र २२।
२०७४ सालको स्थानीय तहमा आएको मत परिणाम हेर्दा टोखा नगरपालिकामा गठबन्धन बनेको अवस्थामा नेकपा एमालेलाई बर्चस्व जोगाउन कठिन देखिएको छ ।
२०७४ सालको निर्वाचनमा टोखा नगरपालिकामा प्रमुख पद जितेको नेकपा एमालेले ८८९५ मत प्राप्त गरेको थियो भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७५१४ मत प्राप्त गरेको थियो।
त्यस्तै सो निर्वाचनमा तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २३९२ मत प्राप्त गरेको थियो भन तत्कालिन संघीय समाजवादी फोरमले २२९ मत प्राप्त गरेको थियो।
सो निर्वाचनको मत परिणाम हेर्दा हाल बनेको गठबन्धनका पक्षमा १०१३५ मत हुन्छ भने नेकपा एमालेले प्राप्त गरेको ८८९५ मत घटाउँदा गठबन्धन १२४० मतले अगाडी देखिन्छ।
त्यस्तै अघिल्लो निर्वाचनको मत परिणाममा १२४० मतले गठबन्धन भन्दा पछाडी रहेको नेकपा एमालेलाई विजयी प्राप्त गर्न नेकपा एकीकृत समाजवादीले काट्ने मत समेत नयाँ थपिएका मतदाताबाट पुर्ताल गर्नुपर्ने देखिएको एक बुद्दिजीवीले बताएका छन।
त्यस्तै टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेले ८०९८ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले ८०३६ र नेकपा माओवादी केन्द्रले २४७४ मत प्राप्त गरेको थियो। यस्तै सो निर्वाचनमा संघीय समाजवादी फोरमले ९९ मत प्राप्त गरेको थियो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका प्रकास अधिकारी नगर प्रमुख पदमा विजयी बनेका थिए भने नेपाली कांग्रेसका हरिहर अधिकारी दोश्रो र नेकपा माओवादी केन्द्रकी कल्पना शर्मा तेश्रो स्थानमा रहेकी थिइन् ।
सो निर्वाचनमा चौथो स्थानमा रहेको राप्रपाका रुपा डंगोलले ५६८ मत प्राप्त गरेका थिइन् भने नेपाल मजदुर किसन पार्टीका मदन श्रेष्ठले ६५७ मत प्राप्त गरेका थिए।
पाँच वर्ष अगाडिको मत परिणामका आधारमा रहेर बैशाख ३० गते हुने निर्वाचनको नतिजाको आंकलन र विश्लेषण गर्दा आउने निर्वाचनमा नेकपा एमाले र पाँच दलीय गठवन्धन विचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिने एक स्थानीय नेता बताउछन।