बुढानिलकण्ठमा गठबन्धन प्रभाव : थपिएका मतदाता र नेकपा (एकीकृत समाजवादी) निर्णायक
कपन अनलाइन
काठमाडौँ,चैत्र २२।
२०७४ सालको स्थानीय तहमा आएको मत परिणाम हेर्दा बुढानिलकण्ठ नगरपालिकाको आगामी नतिजामा नयाँ थपिएका मतदाता र नेकपा एकीकृत समाजवादीको मत निर्णायक हुने देखिएको छ।
२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा प्रमुख पद जितेको नेकपा एमालेले १३२४६ मत प्राप्त गरेको थियो भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८९२७ मत प्राप्त गरेको थियो।
त्यस्तै सो निर्वाचनमा तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३७९० मत प्राप्त गरेको थियो भन तत्कालिन संघीय समाजवादी फोरमले २०९ मत प्राप्त गरेको थियो।
सो निर्वाचनको मत परिणाम हेर्दा हाल बनेको गठबन्धनका पक्षमा १२,९२६ मत हुन्छ भने नेकपा एमालेले प्राप्त गरेको १३,२४६ मतमा सो मत घटाउँदा यसको अन्तर ३२० हुन्छ।
हाल बनेको गठबन्धनका सबै दलका प्रमुख उम्मेदवारहरुले प्राप्त गरेको मत भन्दा पहिलो निर्वाचनमा नेकपा एमालेको ३२० मत बढी रहे पनि यो निर्वाचनमा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी ) ले एमालेबाट काट्ने मत र नयाँ थपिएका करिव ४८ सय मतदाता निर्णायक हुने एक बुद्दिजीवी बताउछन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेले १३१८८ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले ९७६८ र नेकपा माओवादी केन्द्रले ३०९२ मत प्राप्त गरेको थियो। यस्तै सो निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल ( हाल जसपा ) ले २१७ मत प्राप्त गरेको थियो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उद्दव प्रसाद खरेल नगर प्रमुख पदमा विजयी बनेका थिए भने नेपाली कांग्रेसका राजु श्रेष्ठ दोश्रो र नेकपा माओवादी केन्द्रका रबिन अधिकारी तेश्रो स्थानमा रहेका थिए।
सो निर्वाचनमा चौथो स्थानमा रहेको राप्रपाका सानुकान्छा श्रेष्ठले १४४५ मत प्राप्त गरेका थिए भने रास्ट्रिय जनमोर्चाका छवी बहादुर खनालले ६० मत प्राप्त गरेका थिए।
पाँच वर्ष अगाडिको मत परिणामका आधारमा रहेर बैशाख ३० गते हुने निर्वाचनको नतिजाको आंकलन र विश्लेषण गर्दा आउने निर्वाचनमा नेकपा एमाले र पाँच दलीय गठवन्धन विचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिने एक स्थानीय नेता बताउछन।
नेकपा एमाले र राप्रपा विच गठबन्धन भएको खण्डमा अझ रोचक प्रतिस्पर्धा हुने विश्लेषण गर्दै ति नेताले जिल्ला नेताहरुको प्रभावशाली उपस्थिति रहेको बुढानिलकण्ठ नगरपालिकाको चुनावी गर्मि नकै तात्ने विश्लेषण समेत गरेका छन।