दुइ दिने धार्मिक भ्रमण बाट फर्किए गोकर्णेश्वर ९ का ज्येष्ठ नागरिकहरु

दुइ दिने धार्मिक भ्रमण बाट फर्किए गोकर्णेश्वर ९ का ज्येष्ठ नागरिकहरु

कपन अनलाइन

काठमाडौँ, चैत्र ७। गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले  ज्येष्ठ तथा एकल महिलाहरुलाई सम्मान स्वरूप  दुइ दिने धार्मिक भ्रमण गराएको छ। वडाले चैत्र ४  र ५  गते सिन्धुली र जनकपुरमा रहेका धार्मिक क्षेत्रहरुको भ्रमण गराएको हो ।  वडाले प्रत्येक वर्ष वडा भित्र बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता लिने  ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई धार्मिक भ्रमण गराउदै आएकोमा बिगतका बर्षमा कोरोना महामारीको कारण भ्रमण स्थगित गरेको थियो। कोरोना कहर घट्दै गएको र खोप समेत लगाई सकेका ज्येष्ठ नागरिकहरुको चाहना अनुसार वडाले दुइ दिने धार्मिक भ्रमणको आयोजना गरेको हो ।

 सिन्धुली  देखि जनकपुर धाम सम्मका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन, भ्रमण एबं दर्शनका लागि गत चैत्र ५  गतेदेखि धार्मिक भ्रमणमा निस्किएका  गोकर्णेश्वर ९ का  ७१ जना बृद्धबृद्धाको टोली भ्रमण पूरा गरेर  शनिबार साँझ काठमाडौं फर्किएका हुन् ।सिन्धुलीको कुशेश्वर महादेव मन्दिर बाट धार्मिक भ्रमण सुरु गरेका ज्येष्ठ नागरिकको टोलीले  नेपालकै पहिलो युद्ध संग्रहालय सिन्धुलीगढीको युद्ध संग्रहालय भित्र वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरू अवलोकन गरेका थिए।

 त्यसैगरि उनीहरुले शनिबार जनकपुरको जानकी मन्दिर , बिवाह मण्डप लगायतको सो क्षेत्रमा भएका धार्मिक स्थलहरुको  दर्शन एबं भ्रमण गरेर काठमाडौं फर्किएका हुन्  । बृद्धबृद्धाको चाहना अनुसार  वडा अध्यक्ष राजिब थापाको नेतृत्वमा ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा निस्किएका थिए ।

भ्रमणलाइ वडा सदस्य हरिकृष्ण कारंजित ,वडा सदस्य गमला कुमारी परियार, वडा सचिब संगीता बराल, कर्मचारी सरला नेपाल, इन्दिरा पुडासैनी लगायतले सहजीकरण गरेका थिए ।तिर्थाटनको रहर हुँदाहुँदै मुख्य–मुख्य धार्मिकस्थल भ्रमणमा पुग्न नपाएका बृद्धबृद्धा उत्साहित  देखिएका थिए ।

तपाइँको प्रतिक्रिया ।