बुढानीलकण्ठ -९ का कारखानामा कामगर्ने मजदुरहरुलाई जनचेतनामूलक स्वास्थ्य प्रवर्द्धन अभियान

बुढानीलकण्ठ -९ का कारखानामा कामगर्ने मजदुरहरुलाई जनचेतनामूलक स्वास्थ्य प्रवर्द्धन अभियान

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ का कारखानामा कामगर्ने मजदुरहरुलाई पेशागत रोगको न्यूनीकरण तथा जनचेतनामूलक स्वास्थ्य प्रवर्द्धन अभियान कार्यक्रम संचालन गरिएको छ।

वडा नं.९ कि कार्यवाहक वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा वडा कार्यालयकै हलमा आयोजित कार्यक्रममा स्थानीय गुरमेट भेना ससेज फ्याक्ट्रीमा कामगर्ने ४० जना मजदुरलाई नगर जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहाल तथा जनस्वास्थ्य अधिकृत उपमा दाहालले प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा दुवै दाहालले रोगको प्रकार तथा यसका असरहरुको बारेमा प्रष्ट पारेका थिए। आफ्ना वरपरका वातावरण सफा सुग्घर नराख्दा खानपिनमा ध्यान नपुर्‍याउँदा झाडापखाला, आउँ, हैजा जस्ता महामारी जन्य सरुवा रोग लाग्ने बताएका थिए। सधैं एउटै पेशागत रूपमा काम गरिरहँदा खानपिनमा ख्याल् नगर्दा पौष्टिक खाना नखाँदा नियमित स्वास्थ्य जाँच नगर्दा नसर्ने रोग लाग्न सक्ने कुरा बुझाएका थिए।

उँसो २:०० बजेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रम साँझ ५:०० बजेसम्म चलेको थियो। उक्त प्रशिक्षणबाट स्वास्थ्य सम्बन्धि भ्रमहरु हटेको र दैनिक रूपमा जीवनयापन गर्ने प्रक्रिया नै परिवर्तन गरेमा स्वस्थ भइ बाँच्न सकिने रहेछ भन्ने कुरा बुझेको सहभागीले बताए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष त्रिपाठीले आफ्नो वडामा रहेका विभिन्न उद्योग र कलकारखानामा कामगर्ने मजदुरको स्वास्थ्य प्रति चिन्ता लागेर सबै निरोगी होउन् आफ्ना आहारविहारमा सुधार गरुन् भनेर प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताइन्।

तपाइँको प्रतिक्रिया ।