पर्यटन बोर्ड सञ्चालनका लागि नयाँ समिति

पर्यटन बोर्ड सञ्चालनका लागि नयाँ समिति
कपन अनलाइन /२६ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सहित उच्च अधिकारी समेत भ्रष्टाचार काण्डमा मुछिएपछि बोर्डको दैनिक कार्य सञ्चालनका लागि नयाँ उपसमिति बनेको छ ।
Tourism-centre

बोर्ड सञ्चालक समितिको बैठकले सदस्य राजेन्द्रप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिका सदस्यहरुमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव द्वय उमाकान्त पराजुली र रमेश अधिकारी रहनु भएको छ भने दुई सदस्य निजी पर्यटन व्यवसायीको तर्फबाट रहने बताइएको छ । निजी व्यवसायीको प्रतिनिधित्व कस्ले गर्ने भन्ने चाहिँ टुङ्गिएको छैन । उमसमितिको सदस्य सचिवको जिम्मेवारी सहसचिव रमेश अधिकारीलाई दिइएको छ भने पर्यटन बोर्डको सदस्य सचिवको रुपमा बोर्ड सदस्य घनेन्द्रबहादुर श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । बोर्ड सञ्चालक समितिका अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयको सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकद्वारा बनाइएको उपसमितिले पर्यटन बोर्डको दैनिक कार्यसञ्चालन गर्ने उपसमितिका संयोजक राजेन्द्रप्रसाद सापकोटाले बताए ।

बोर्ड सदस्य विवादका कारण लामो समयसम्म बजेट कार्यान्वयन हुन नसकिरहेको अवस्थामा बोर्डका अधिकांश उच्च अधिकारीहरु भ्रष्टाचार मुद्धामा मुछिएपछि फेरी बोर्डको काम प्रभावित हुने देखिन्छ । यता, बोर्ड सदस्य राजेन्द्रप्रसाद सापकोटाले भने अब बनेको उपसमितिले बोर्ड बजेट कार्यान्वयनदेखि दैनिक कार्यसञ्चालनका सबै काम नियमित रुपमा गर्ने बताउंछन् । उनले बोर्डसँग आर्थिक वर्ष २०७१÷०७२ का लागि रहेको १ अर्व १० करोडको बजेट कार्यान्वयनमा गइसकेको र करीब १५ प्रतिशत खर्च भइसकेको पनि बताए । यसैबीच, अर्का सदस्य घनेन्द्रबहादुर श्रेष्ठले भने पर्यटन बोर्ड ऐन संशोधन गरेर भएपनि विगत ३ वर्षदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्याउन पहल गर्ने बताए । उनले आफूलाई सदस्य सचिवको जिम्मेवारी दिएसँगै बोर्डका सबै काम सहज रुपमा चल्ने प्रतिबद्धता व्यक्त गरे । उता, पर्यटन बोर्डका उच्च अधिकारीहरु निलम्बनमा परेपछि बोर्ड भने सुनसान बनेको छ ।

तपाइँको प्रतिक्रिया ।