स्थानीय चुनाव चर्चा : बुढानिलकण्ठमा एमाले बचाउने र कांग्रेस हराउने रणनीतिमा,अरु दल ?

स्थानीय चुनाव चर्चा : बुढानिलकण्ठमा एमाले बचाउने र कांग्रेस हराउने रणनीतिमा,अरु दल ?

कपन अनलाइन

काठमाण्डौ,माघ २३।

स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलहरुले पनि आन्तरिक छलफल र रणनीति निर्माणलाई तोव्रता दिएका छन।

१३ वटा वडा रहेको बुढानिलकण्ठ नगरपालिकामा अहिले नेकपा एमाले ,नेपाली कांग्रेस र नेकपा ( एकीकृत समाजवादी ) का जनप्रतिनिधिहरु क्रियाशील रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ११ वटा वडामा नेकपा एमाले र २ वटा वडामा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको थियो। नेकपा एमालेको विभाजन संगै बुढानिलकण्ठ नगरपालिकाका दुई वडा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा सक्रिय बनेका छन।

बुढानिलकण्ठ नगरपालिकामा अहिले नेकपा एमालेका ९ र नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का दुई दुई जना वडा अध्यक्ष रहेका छन।

निर्वाचनको मिति घोषणा हुने चर्चाको विचमा बुढानिलकण्ठ नगरपालिकामा क्रियाशील रहेका राजनीतिक दलहरुले गत निर्वाचनको मत परिणाम र वर्तमान अवस्थालाई गम्भीर अध्ययन गरिरहेको उनीहरुका अभ्यास र गतिविधिहरुले प्रस्ट देखाई रहेका छन।

दुई निर्वाचन क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिकामा काठमाण्डौ क्षेत्र नं ४ मा रहेका ८ वटा वडामा पराजित भएको नेपाली कांग्रेस अहिले जसरि पनि जित्नुपर्ने भन्दै संगठन विस्तारमा सक्रिय रहेको छ। गठबन्धनको अभ्यासले उत्साहित बनेको नेपाली कांग्रेस बुढानिलकण्ठले आफ्नो पार्टी र गठबन्धन दुबैलाई सक्रिय बनाउने प्रयास गरिरहेको छ।

नेकपा एमालेमा देखिएको विभाजनलाई आफ्नो जितको बलियो आधार बनाउन सकिने विश्लेषण गरेको नेपाली कांग्रेस बुढानिलकण्ठले विगतको चुनावमा आन्तरिक गुटबन्दी र बेमेलले हारेको निस्कर्ष निकाल्दै स्थानीय समितिहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो।

प्रतिनिधि सभामा जित हासिल गरेपनि विशेष बुढानिलकण्ठ नगरपालिकामा “छिर्न” नपाएको भन्दै नगरपालिकाले  अपमान गरेको बताउदै आएका कांग्रेस महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले पनि यस पटक स्थानीय तह जित्नै पर्ने भन्दै स्थानीय कमिटीहरुलाई दवाव सहित निर्देशन अहिले कांग्रेस वृतमा निकै चर्चा र चासोको विषय बनेको छ।

बुढानिलकण्ठ नगरपालिकामा ११ वडामा जितेको नेकपा एमाले विभाजन पश्चात ९ वडामा नेतृत्व गरिरहेको छ। सबै वडा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले बुढानिलकण्ठ पनि अहिले पुरानो जितलाई कायम गर्दै थप वडाहरु पनि जित्ने रणनीतिमा देखिएको छ।

पार्टी विभाजनले स्थानीय कमिटी र सदस्यको तहमा खासै असर नपरेको निस्कर्ष निकालेको नेकपा एमाले अहिले समाजवादी तिर लागेका प्रतिनिधि फर्काउने र नगरपालिकामा गरेको जनपक्षीय कामहरु देखाउदै नगरवासीलाई फकाउने रणनीतिमा सक्रिय देखिएको छ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको जनसम्पर्क र उनीहरुले सम्पन्न  गरेका भौतिक र सामाजिक विकासलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा जाने र   स्थानीय,प्रदेस र संघ तिनै तह जित्ने गरी तयारी गरेको नेकपा एमाले बुढानिलकण्ठले दावी गर्दै आएको छ।

त्यस्तै जनप्रतिनिधिहरुको उपस्थितिका आधारमा बुढानिलकण्ठ नगरपालिकामा तेश्रो ठुलो दल रहेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धन भएको खण्डमा आफ्नो दरिलो उपस्थिति देखाउन सकिने विश्लेषण सहित सक्रिय भएको चर्चा नगरपालिकामा चलेको छ।

एकल निर्वाचन लडेको खण्डमा जित्ने भन्दा पनि हराउने शक्ति आफुहरु संग रहेको दावी गर्ने नेकपा (एकीकृत समाजवादी) का स्थानीय नेताहरु नेकपा एमाले प्रति निकै आक्रामक र आक्रोसित देखिदै आएका छन।

त्यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको कुनै पनि स्थानमा जित्न नसकेको नेकपा माओवादी केन्द्र पनि गठबन्धन भएमा खाता खोल्ने तयारीमा रहेको छ।

गत निर्वाचनमा नगर प्रमुखका उम्मेदवारले १०.३८ प्रतिसत मत प्राप्त गर्नुका साथै वडाहरुमा पनि उल्लेख्य मत पाएको नेकपा माओवादीको मत गठबन्धन भएमा यस पटक केहि वडामा निर्णायक बन्न सक्ने विश्लेषण गरेको सो पार्टी पनि अहिले संगठन विस्तारमा सक्रिय देखिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।