निर्वाचनको हकमा संविधानको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ: मीन विश्वकर्मा

निर्वाचनको हकमा संविधानको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ: मीन विश्वकर्मा

कपन अनलाइन

काठमाण्डौ ,माघ ६ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्नपनि उनले आग्रह गरेका छन् ।
उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितमिा कांग्रेसले निर्वाचन सम्पन्न गरेको ईतिहास छ । मुलुकमा निर्वाचन हुँदैन् कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भएपनि निर्वाचन गराएको ईतिहास छ । मुलकुमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निश्पक्ष निर्वाचन भएको छ ।”
उनले तत्कालिन् प्रधानमन्त्री गिरिजाबाबुलाई ०६४ मा चुनाव हार्ने रिपोर्ट हुँदा पनि गिरिजाबाबुले चुनाव गराएको सुनाए । उनले भने,“उहाँले त्यतिवेला कांग्रेस हार्न सक्छ भन्नुभयो, तर मुलुक जिताउन निर्वाचन गर्छु भन्नुभएको थियो । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा गए, हामी पछि पर्यौं । तर, जनमतमा हामी ०७४ मा फष्ट भयौं । म सबैलाई सुन्नेगरि भन्न चाहन्छु कि यो सरकार निर्वाचन नै गराउनको लागि बनेको हो । हाम्रो सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई सरकारमा जान आवश्यक नै थिएन । पार्टीले पनि चुनावको लागि सुझाव दिएको छ । उहाँले सर्वदलीय बैठक बोलाउनुहुन्छ, तर एमाले आउँदैन् । निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौं । बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो । निर्वाचनको हकमा हामी संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ ।”
स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्ेलख गर्दै उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए ।
उनले अहिले प्रधानमन्त्री देउवाले निर्वाचन ऐन पल्टाउन थालेको उल्लेख गरे । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरेको स्मरण गराए । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने कि विगतमा जस्तो तीन चरणमा गर्ने भन्नेपनि रहेको बताए । तर, त्यतिवेला अवस्था नै त्यस्तो भएकोले तीन चरणमा निर्वाचन गर्नुपरेको थियो भन्ने उनको भनाई छ। उनले अब स्थानीय तहको एकै चरणमा अनि संघ र प्रदेशको पनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुने बताए । उनले निर्वाचन समयमै गर्ने शर्तमा संसद् खोल्नसमेत एमालेसमक्ष आग्रह गरे । उनले सत्ता गठबन्धनमा बाहिर हल्ला फैलाईएजस्तो निर्वाचन टार्ने कुरा नभएको पनि स्पष्ट पारे । उनले समयमै निर्वाचन गराउनको लागि सरकार उपाय खोजिरहेको सुनाए ।
एमालेले संसद् अवरोध गर्ने अनि भोलि सडकमा जाने कुरा गर्नुपनि गलत भएको विश्वकर्माको टिप्पणी छ । उनले निर्वाचन भनेको खेल भएको उल्लेख गर्दै निर्वाचनको मिति तय गर्नु र सम्पन्न गर्नु चाहीँ साझा विषय भएपनि निर्वाचनमा कसरी जाने भन्ने कुरा चाहीँ दलको आफ्नो रणनीति हुने बताए ।

तपाइँको प्रतिक्रिया ।