बैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चिततामा जोड

बैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चिततामा जोड

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

बैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा सरकारले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नेपालबाट सिप र भाषा नसिकी महिला तथा पुरूष जनशक्ति वैदेशिक रोजगारीमा जाँदा ठगिने, हिंसामा पर्ने जोखिमलाई न्युनिकरण गर्न आफु जाने गन्तव्य देशको भाषा,कानुन त्यहाँ गर्ने कामको सम्वन्धमा निपूर्ण भएर जानुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले सरकारका नीतिको कार्यान्वयन र वैदेशिक रोजगारीमा बढि जाने वर्ग, क्षेत्रका महिलाका लागि सम्वन्धीत क्षेत्रमै पुगेर रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानी, सिप र भाषाको बारेमा जागरण फैलाउनुपर्ने बताउनुभयो ।
उहाँले विशेष गरी सामान्य जीविकोपार्जनका लागि पनि आफुसँग साधन र स्रोत नभएका, घर, बालबालिकाको जिम्मेवारी पुरा गर्नुपर्ने अवस्थाका महिला बढि विदेशमा रोजगारी गर्न जाने बढि देखिएकोले उहाँहरूको दक्षता बढाउन र सम्भावित जोखिमको सन्दर्भमा पनि बुझाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भूषालले वैदेशिक रोजगारको सन्दर्भमा नेपाल सरकारले बनाएका नीति, राष्ट्रिय÷ अन्तराष्ट्रिय मञ्चमा यस सम्वन्धी हुने कार्यक्रम र बहसमा ‘बैदेशिक रोजगारी’ सन्दर्भमा उठ्ने सवालको बारेमा चर्चा गर्नुभएको थियो ।
उहाँले बैदेशिक रोजगारीमा जाने प्रक्रियालाई पुरै वन्द गर्न सकिने विषय होइन, यसलाई सरकारी, गैरसरकारी संस्था, वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको समेतको संलग्नतामा बलियो नीतिगत परिवर्तनसहित कसरी सुरक्षित बनाउन सकिन्छ ? भन्ने तर्फ सोच्नुपर्ने बताउनुभयो ।
उपसचिव भूषालले दक्षिण एसियामा जनशक्ति विदेश पठाउने मुलुकमध्ये नेपाल पनि एक भएकोले घरेलु कामदारको रूपमा वा अदक्ष कामदार पठाउनुभन्दा दक्ष, नर्स, इन्जिनियरलगायतका अन्य प्राविधिक क्षेत्रका लागि उपयुक्त सिप दक्षतायुक्त जनशक्ति वृद्धि गर्दै जोखिम कम गर्न सकिने सुझाव दिनुभयो ।
कार्यक्रममा महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले परिवारलाई आर्थिक सहयोग गर्ने लक्ष्यले बिदेशिने महिलाले भोग्नुपरेको मानसिक तथा शारीरिक र आर्थिक हिंसाको विषयलाई नीतिगत परिमार्जन गरी सम्वोधन गरिनुपर्छ भन्दै यसका लागि सरकारसमक्ष सम्वन्धीत सङ्घ संस्था र सरोकारवाला समुहमार्फत सङ्कलित सुझाव पेश गर्ने बताउनुभयो ।
त्यसैगरी आयोगका सदस्य कृष्णकुमारी खतिवडाले नेपाली महिलाको बैदेशिक रोजगारीमा जानु रहर भन्दा पनि बाध्यता बढि भएकोले रोजगारीमा जाँदा हुने जोखिम कम गर्नेतर्फ सरकारले सोच्नुपर्ने बताउनुभयो ।
साथै उनीहरूले कमाएर ल्याएको रकमको उचित सदुपयोग तथा आर्जन गरेको सिप दक्षतालाई स्वदेशमै उद्यमसिल बनाउन पनि मद्दत गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले बैदेशिक रोजगारमा जाने नेपालीको मानव अधिकार हनन् हुनुहुन्न भन्ने मान्यताले आयोगले कतार, मलेसियालगायतका मुलुकसँग सम्झौता नै गरेर अगाडि बढेको जानकारी दिनुभयो ।
उहाँले सुरक्षित तवरले बैदेशिक रोजगारीमा जान पाउनु महिलाको हक हो भन्दै आगामी अन्तर्राष्ट्रिय महिला दिवससम्म सरकारले बैदेशिक रोजगारीमा जानका लागि प्रतिवन्ध लगाएको मुलुकलाई खोल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पौरखी नेपालका संस्थापक मञ्जु गुरूङले बैदेशिक रोजगारीमा जुनसुकै देशमा पुगेका नेपालीको सुरक्षाका लागि सरकारले अनुगमनको पाटोलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले यस क्षेत्रमा काम गर्ने सङ्घ संथाले राज्यलाई सघाउनै काम गरिरहेकोले बैदेशिक रोजगारलाई सुरक्षित बनाउन आवश्यक सुझाव दिंदै आएको बताउनुभयो ।
सरकारले बैदेशिक रोजगारीबारे अवधारणागत स्पष्टतासहित काम गर्नुपर्नेमा गुरूङले जोड दिनुभयो ।
आप्रवासी महिला कामदार समुह –(अमकास)का कार्यकारी निर्देशक विजया राई श्रेष्ठले स्वेदेशमै रोजगारीको सिर्जना, विदेशमा काम गरेर फर्केका महिलाको दक्षताको यहिं सदुपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हालको सन्दर्भमा कोभिड–१९ को कारण रोजगारी गुमाएर स्वदेश फर्किने महिलाको हितका लागि तत्काल सम्वोधन गर्न कार्यक्रम सरकारले घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा मानव बेचबिखन विरूद्धको कार्य समुह (एटविन ) का कार्यकारी निर्देशक बेनुमाया गुरूङले यहि क्षेत्रमा लामो समय काम गरेको अनुभव र आवश्यक तथ्य, तथ्याङ्क उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

तपाइँको प्रतिक्रिया ।