शालिनदीमा मेला भर्न आउने भक्तजनलाइ खोप कार्ड अनिवार्य

शालिनदीमा मेला भर्न आउने भक्तजनलाइ खोप कार्ड अनिवार्य

कपन अनलाइन

काठमाडौं माघ १। शंखरापुर नगरपालिकामा बसेको सर्वपक्षीय सरोकारवालाहरुको बैठकले शालिनदी क्षेत्रमा मेला भर्न, माधवनारायण दर्शन गर्न पूजा आजा गर्न आउने भक्तजनहरुलाई अनिवार्यरुपमा खोपकार्ड बोकेर आउनुपर्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरु निम्न रहेको छ।

निर्णय नं. – १) हालको पछिल्लो दिनमा कोभिड १९ को संक्रमण बढ्दै गएको हुँदा शालिनदी मेला खुल्ला रुपमा नगरी नित्य पूजा र व्रतको रुपमा मात्र सञ्चालन गर्ने ।

निर्णय नं. – २) शालिनदी स्थित माधवनारायण दर्शनको लागि आउने भक्तजनहरुलाई मन्दिर परिसरमा प्रवेशको लागि कोभिड १९ को खोप लगाएको पूर्ण खोप कार्ड अनिवार्य गर्ने ।

अन्य थप निर्णयहरु यस प्रकार रहेको छ –

क) स्वस्थानी मेलाको समयमा व्रतालुहरुलाई स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले गर्ने ।

ख) स्वस्थानी मेलाको समयमा मेला क्षेत्रमा राख्ने सबै पसलहरुमा मूल्य सूची अनिवार्य रुपमा राख्न लगाउने ।

ग) यस मेला क्षेत्रमा सञ्चालन भएका सबै बस व्यवसायी समिति÷प्रा.लि.हरुलाई अनिवार्यरुपमा भाडादर सबै यात्रुहरुले देख्ने गरी बसमा राख्न लगाउने ।

घ) सोधपुछ तथा सहायता कक्ष सहित स्वास्थ्य शीविर नगरपालिकाको परिसरमा राख्ने ।

ङ) शालिनदी मेलाको समयमा कुचिकार तथा अन्य सरसफाईको उचित व्यवस्थापन माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र ब्लु वेस्ट टु भ्यालु कम्पनीले गर्ने गराउने ।

च) मेला अवधिमा कुनै पनि प्रकारको जुवाजन्य खेलहरु, मदिराजन्य पदार्थ तथा मासु पसलहरु राख्न प्रयोगमा पूर्ण रुपमा बन्देज लगाउनेछ । यदि बन्देज गरिएका खेलहरु सञ्चालन भएको अवस्थामा वा मदिराजन्य र मासुजन्य पदार्थ बेचविखन गरेमा कानुन बमोजिम कारवाही गर्ने ।

छ) मेलामा हुने फोहोरलाई व्यवस्थापन गर्न आवश्यक स्थानहरु ब्लु वेस्ट टु भ्यालु कम्पनीले आवश्यक विनहरु राख्ने ।

ज) मेलाको समयमा राख्ने पसलहरु यस नगरपालिकामा दर्ता सूचिकृत गर्न लगाउने र वडा नं. ७ स्थित बिजा पोखरी र शालिनदी गेट देखि वडा नं. ५ स्थित सिमलको बोटसम्म पार्किङ्ग सञ्चालनको लागि सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरियो ।

झ) मेला क्षेत्रमा प्लाष्टिक कप तथा प्लेटहरु पूर्णरुपमा निषेध गर्ने गराउने निर्णय गरियो ।

ञ) मेला क्षेत्रका विभिन्न स्थानहरुमा हुने विभिन्न गतिविधिहरुको अवलोकनको लागि महानगरीय प्रहरी प्रभाग साँखुको नियन्त्रणमा रहने गरी सिसिटिभी को प्रबन्ध मिलाउने निर्णय गरियो ।

ट) मेला क्षेत्रमा खुल्ला रुपमा रहने माग्नेहरुलाई शालिनदी परिसरमा रहन नदिने ।

ठ) शालिनदी मेला अवधिभर निर्माण सामग्री बोक्ने टिपरहरु बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म जहरसिंपौवा –फेदी–साँखु–खुलालटार–इन्द्रायणी सडकखण्ड र कात्तिके–पालुवारी–साँखु सडक खण्डमा गुड्न नदिने ।

ड) शालिनदी मेलामा ट्राफिक व्यवस्थापन गर्नका लागि बैकल्पिक मार्गहरुलाई मर्मत सम्भार गरी चालु अवस्थामा राख्ने ।

ढ) शालिनदी मेलाको समयमा व्यक्तिगत जग्गाहरु भाडामा लिई अन्य धार्मिक अनुष्ठानका कार्यहरु गर्न नदिने ।

ण) शालिनदी मेलामा बाटोको पेटीभन्दा बाहिर सडकमा कुनै पसलहरु राख्न नदिने ।

त) शालिनदी मेलालाई थप व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि देहाय बमोजिमको शालिनदी मेला व्यवस्थापन मूल समन्वय समिति गठन गर्ने र यस समितिले नियमितरुपमा अनुगमन गर्ने ।

१) नगर प्रमुख सुवर्ण श्रेष्ठ – संयोजक

२) नगर उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ – सदस्य

३) प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम – सदस्य

४) उप सचिव राजकुमार राई – सदस्य

५) नगर कमिटी अध्यक्ष वा प्रतिनिधि नेकपा एमाले – सदस्य

६) नगर कमिटी अध्यक्ष वा प्रतिनिधि नेपाली काँगे्रस – सदस्य

७) नगर कमिटी अध्यक्ष वा प्रतिनिधि नेकपा माओवादी केन्द्र – सदस्य

८) नगर कमिटी अध्यक्ष वा प्रतिनिधि राष्ट्रिय प्रजातन्त्र पार्टी – सदस्य

९) नगर कमिटी अध्यक्ष वा प्रतिनिधि नेकपा समाजवादी – सदस्य

१०) प्रहरी निरीक्षक महानगरीय प्रहरी प्रभाग साँखु – सदस्य

११) अध्यक्ष माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति – सदस्य

१२) अध्यक्ष जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ – सदस्य

१३) वडा अध्यक्ष वडा नं. ५, ६ र ७ – सदस्य

१४) स्थानीय पत्रकारहरु – सदस्य

१५) अध्यक्ष÷प्रतिनिधि उद्योग वाणिज्य संघ – सदस्य

फोटो सौजन्य : लावण्य सन्देश

 

तपाइँको प्रतिक्रिया ।