एमालेको साथ लिएर एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना हो : विशाल भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन्।
देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको ६ महिना यत्तिकै व्यतित भएको उल्लेख गरे । उनले भने–‘सरकारको ६ महिनाको समिक्षा गर्दा यो ६ महिना त्यतिकै व्यतित भयो, प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’
भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले भने,‘एमालेको साथ लिएर कसैले एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना हो ।’ उनले सरकारको ६ महिनाको कामको समिक्षा गर्दा कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले प्रतिपक्षी दललाई गाली गरेर आफ्नो अभिव्यक्ति सुरु गरेको स्मरण गराए । उनले भने,‘उहाँहरुले एमालेलाई सर्वाधिक धेरै गाली गर्नुभयो । एमाले यस्तो पार्टी हो, जसले गालीलाई स्विकार गर्दै तर्कसंगत खण्डन गर्नसक्छ।’
भट्टराईले वर्तमान सरकार जनादेशले नभएर परमादेशले गठन भएको उल्लेख गरे । उनले भने,‘दुनियाँमा अदालतले यति घण्टाभित्र सरकार बनाउनु र फलानोलाई प्रधानमन्त्री तोक्नु भनेको हामीलाई थाहा छैन् । तोकेको घण्टाभित्रै शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुभयो ।’ उनले यसअघिको आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले विकास निर्माणको धेरै काम गरेको स्मरण गराए । उनले भने,‘अहिले म विकासको धेरै कुरा गर्न सक्दिन्, हाम्रो पार्टी सरकारको नेतृत्वमा हुँदा ३९६ वटा आधारभुत तहको अस्पतालको शिल्यान्यास गरेका थियौं । ती कुनै नक्कली आयोजना होईनन । रणनीतिक सडक सांसदहरुले लेखेर दिएको हो । डिपिआर र नक्शान सकिएको थियो ।’
अहिले विकास आयोजनाको कुरामा पनि यसअघिका योजनाहरु बेवारिसे बनेको नको गुनासो थियो । उनले भने–‘बजेट होलिडे यही बीचमा भयो । बजेटको अभावको कारण ठूलो समस्या भएको छ । बैंकहरुको तरलताको अवस्था छ। यति ठूलो संकट अहिलेसम्म आएको थिएन ।’
त्यस्तै, प्रशासनको तर्फको कुरा गर्दा पनि बेथिति मात्रै रहेको उनको टिप्पणी थियो । ‘यहाँ कार्यक्षमता भएकाहरुलाई बेकामे बनाईएको छ, प्रशासनमा पनि अहिले बेथितिमात्रै छ’–उनले भने । त्यस्तै, विभिन्न देशमा राजदूहरु रिक्त रहेको पनि उनले गुनासो पोखे । उनले भने,‘चीनमा राजदूत खाली राखिएको छ। यो सरकार महाकाली तुईन प्रकरणमा चुँ बोलेन । एमसीसीको सन्दर्भमा सरकारको धारणा अहिलेसम्म आएको छैन् । कांग्रेसको धारणा त आयो, तर सरकारको धारणा के हो ? सरकारको एकीकृत धारणा अहिलेसम्म आएको देखिएको छैन् ।’
उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप लगाए । उनले भने,‘न्यायाधीशहरुको गुटबन्दी छ । न्यायालयमा चौपट समस्या उत्पन्न भएको छ । न्यायालय घुसखोरीको अखडा भएको छ, न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्टले यो कुरा भनेको हो । न्यायालयमा सुधारको लागि यो रिपोर्ट अक्षरंश पालना हुनुपर्छ ।’
भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने पनि बताए । उनले भने,‘हामीले संसद् सदाको लागि विघटन गरेको थिएनौं, एमाले संसदीय व्यवस्थाको लागि धेरै योगदान गरेको पार्टी हो । यसबाट एमाले किमार्थ पछि हट्दैन् । ०७४ को सालको जनादेशलाई यो संसदले बोकेन भनेर विघटन हामीले गरेको हो ।’
उनले एमालेले माओवादी केन्द्रसँग बाध्य भएर पार्टी एकता गर्नुपरेको पनि टिप्पणी गरे । उनले भने,‘सुरुमा हामीले गठबन्धन गरेका थियौं, पछि बाध्य भएर पार्टी एकता गरेको हो । अहिले कांग्रेसका साथीहरु यही गठबन्धन लिएर चुनावमा जानुभयो भने भोलि भोग्नुहुन्छ। एमाले संसदीय व्यवस्था र संविधानका उपलब्धिबाट पछि फर्किँदैन् ।’ उनले वर्तमान सरकारले खोपको उचित व्यवस्था गरेको छ भनेर भनिएकोमा यसमा पनि ओली सरकारकै योगदान रहेको सुनाए ।
उनले भने–‘खोप स्टकमा छ भनियो, त्यो बेलाको सरकारले गरेको व्यवस्थाअनुसार यो सबै काम भएको हो । नयाँ तरिकाले खरिद गरिएको होईन । हावादारी गफ नगरे हुन्छ। बरु, अब खोपलाई अभियानको रुपमा लैजानुपर्छ । पारदर्शी तरिका अपनाएर खोपको व्यवस्था गर्नुपर्छ ।’
अहिलेकै अवस्थामा आफूहरुले संसद् चल्न नदिने उनको चेतावनी छ । उनले भने–‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुक्नुभयो । सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरुलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषय अहिले अदालतसम्म पुगवेको छ, अदालतले गर्ने निर्णय मान्छौं । सभामुखले विलम्ब गरेर भएपनि कारबाहीको सुचना टाँस्नुपर्यो । यदि उहाँले यसो गर्नुभन भने मार्गप्रशस्त गर्नुपर्यो । एमाले अहिलेको अवस्थामा संसद्को गतिरोध अन्त्य गर्ने अवस्थामा छैन् ।’
उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । उनले भने,‘यो गठबन्धन भत्काउने हाम्रो चाहना छैन् । स्थानीय तहको निर्वाचन सार्ने कुरा सुन्दैछु, शिघ्रादिशिघ्रा मिति तोकेर निर्वाचन घोषणा गर्नुपर्छ ।’ उनले अहिले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल रहेको विश्वास दिलाए । उनले भने,‘अहिले एमालेको पक्षमा जनमत छ। माहोल राम्रो छ ।’

तपाइँको प्रतिक्रिया ।