हो राष्ट्रको वन्दना : त्रिलोचन आचार्य (कविता )

हो राष्ट्रको वन्दना : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौँ, पौष १७।

खेतीमा जति जुट्नुपर्छ नभुली बोकौँ हलो वा जुवा
मागी हिँड्नु कता विकास श्रमले आफैँ बनाऊँ कुवा
कोदालो सबले लिदैँ अघि बढौँ खोल्नै छ बाटो यहाँ
आफ्नो काम गरेर बढ्नु पथमा हो राष्ट्रको वन्दना । १।

बोक्ने डस्टर ज्ञान बाँड्न जहिल्यै बन्ने गरौँ तत्पर
बोक्ने बन्दुक लम्किऊँ हर घडी यो देश रक्षातिर
माली हौँ तब गोडमेल नगरी छाड्छौँ बगैँचा किन ?
चोखो मन्दिर कर्म हो र अनि त्यै हो राष्ट्रको वन्दना।२।

सेवामा खटिने मिलेर सबले बाडौँ किनी औषधी
बाल्नै पर्छ झलल्ल झल्ल बिजुली भै विज्ञ लागौँ यहीँ
गोठालो म बनेर गोठ कुरुँला हो सिर्जना साधना
जे गर्छौँ मन चित्तले गरिनु नै हो राष्ट्रको वन्दना ।३।

जानै पर्छ भने विदेश पनि त्यो जाऊँ नबिर्सौँ घर
भिड्नै पर्छ अभावका सँग सधैँ फालेर जाऊँ डर
मात्रै भुल्नु हुँदैन सोध्न कहिल्यै आमा छ के चाहना ?
आमाको जब बढ्छ इज्जत त्यही हो राष्ट्रको वन्दना ।४।

खोला तर्नु छ यो नवीन पथको डुङ्गा खियाऊँ स्वयं
खाल्डो पुर्नु छ यो नयाँ प्रविधिले ढुङ्गा फुटाऊँ स्वयं
खाजा होस् पटुकातिरै दश दिशा के गर्नु त्यो याचना
यात्री हौँ लयमा हिँडौँ फगत यै हो राष्ट्रको वन्दना ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।