नेपाल खेलकुद महासंघको बधाई तथा स्वागत कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पौष १६ ।
नेपाल खेलकुद महासंघको आयोजनामा बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । जमल स्थित होटल यल्लो प्यागोडामा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा एमालेको दशौं महाधिवेसनबाट निर्वाचित स्थायीकमिटी, पोलिटब्युरो तथा केन्द्रिय कमिटीमा निर्वाचित भएका खेलक्षेत्रका नेताहरुलाइ स्वागत सहित सम्मान गरिएको हो ।
नेकपा एमालेका स्थायीकमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता र महासंघका बरिष्ठ उपाध्यक्ष एवं प्रदेश–१ खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बास्कोटा, एमाले पोलिटब्युरो सदस्य तथा महासंघका संस्थापक अध्यक्ष पुरुषोतम पौडेल, पोलिटब्युरो सद्स्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापामगर, एमाले केन्द्रिय सदस्य तथा जनसंगठन संयन्त्र उपप्रमुख रचना खड्का, केन्द्रिय सद्स्य तथा पुर्व इन्चार्ज दावा तामाङ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल, महासंघका अध्यक्ष तथा एमाले केन्द्रिय सदस्य रमेशकुमार पौडेल लगायतको उपस्थिति रहेको थियो ।
महासंघका पुर्व इन्चार्जहरु कर्णबहादुर थापा, लिलबहादुर थापा तथा दावा तामाङ ,संस्थापक अध्यक्ष पुरुषोतम पौडेल र वर्तमान अध्यक्ष रमेस पौडेल लगायतलाइ सम्मान गरिएको सो कार्यक्रमको व्यवस्थापन नेपाल खेलकुद महासंघ काठमाण्डौले गरेको थियो ।
समारोहको अध्यक्षता ग्रहण गर्दै बरिष्ठ उपाध्यक्ष बस्नेतले अग्रज नागरिक जस्तै खेलाडीहरुलाइ पनि आजीवन भत्ताको व्यबस्था हुनुपर्नेमा जोड दिएका थिए भने काठमान्डौ जिल्ला अध्यक्ष राजेश्वरमान स्थापितले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भानुभक्त ढकालले खेलकुद क्षेत्रलाइ राज्यले प्राथमिकतामा राख्नुपर्ने जिकीर गर्दै पछिल्लो टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी खेलको व्यवस्थापक चयनमा अख्तियार दुरुपयोग भएको धारणा राखेका थिए । आगामी दिनमा दुइ जना खेलाडीसँग र २० जना अफिसियल जाने प्रचलनको अन्त्य गर्नुपर्ने भन्दै बताए ।
सो अवसरमा बोल्दै इन्चार्ज गोकुल बास्कोटाले खेलकुदले देशको आत्मविश्वास, राष्ट्रिय एकता र पहिचानका लागि उठ्न सक्ने सामथ्र्य प्रदान गर्ने धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष पुरुषोतम पौडेलले खेलकुदमा बजेटको बृद्धि गर्दै खेलाडीहरुको व्यवसायीकरणमा जोड दिएर कुल बजेटको कम्तिमा ५ प्रतिशत पुर्याउनुपर्ने धारणा राखेका थिए ।
एमाले पोलिटब्युरो सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापाले स्पोर्टस एकेडेमी निमार्णमा प्राथमिकता दिनुपर्ने धारणा राखे । त्यस्तै अध्यक्ष रमेस पौडेलले नेपालमा खेलकुदको विकासका लागि खेलकुद निति आवश्यक रहेको भन्दै खेलाडिहरुको अनिवार्य बिमा गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै राखेपका सदस्यसचिव सिलवालले खेलकुदमा राजनितिकरण हुनु नहुने तर खेलकुद सबै दलको प्रमुख एजेन्डा बन्नुपर्ने कुरामा जोड दिंदै नेपाललाई खेलकुदको अन्र्तराष्ट्रिय हब बनाउन सकिने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।